पारा तेक्वान्दो टोलीको बिदाइ
काठमाडौं । डब्लुटी प्रेसिडेन्ट कप एसिया रिजनमा सहभागी हुन १ खेलाडीसहित २ सदस्यीय पारा तेक्वान्दो टोलीको बिहीबार बिदाइ गरिएको छ ।
इरानको तेहरानमा फागुन ३० गते हुने प्रतियोगिताअन्तर्गत पारा के– ४४ क्याटगोरीको महिला ५२ केजीमुनि सिर्जना घिसिङले नेपालको चुनौती प्रस्तुत गर्ने छिन् । सिर्जनाको यो दोश्रो अन्तर्राष्ट्रिय प्रतियोगिता हुनेछ । सिर्जनको ‘डेब्यु’ प्रतियोगिता केहि महिनाअघि बहराइनको मानामामा भएको चौथो एसियाली पारा युथ गेम्स हो । त्यसमा सिर्जनले नेपाललाई रजत पदक दिलाएकी थिइन् । सन् २०१८ मा सिर्जनले पारा तेक्वान्दो खेल्न सुरु गरेकी हुन् ।
प्रशिक्षकमा अन्तर्राष्ट्रिय लेभल २ पारा तेक्वान्दो प्रशिक्षक कविराज नेगी लामा रहेका छन् । पाराको अन्तर्राष्ट्रिय प्रशिक्षकका रुपमा लामाको यो पाँचौं प्रतियोगिता हो । विगतका ४ मध्ये ३ मा नेपाल पदक जित्न सफल भएको छ । टोकियो पारालिम्पिक– २०२१ मा भने नेपाल पदकको नजिक पुगेर पनि चुकेको थियो । यद्यपि उक्त प्रतियोगितामा पलेश गोबद्र्धनले २ ‘बाउट’ जितेर इतिहास रचेकी थिइन् ।
प्रशिक्षक लामाले प्रतियोगिताले एसियाली खेलाडीको वरीयता निर्धारण गर्ने बताए । टोली शुक्रबार प्रस्थान गर्दै छ ।

टिप्पणी लेख्नुहोस्