पीएम कप : प्रदेश २ को पहिलो जित
काठमाडौं । प्रदेश २ ले प्रधानमन्त्री (पीएम) कप टी–२० क्रिकेट प्रतियोगितामा पहिलो जित निकालेको छ । मुलपानी क्रिकेट मैदानमा मंगलबार भएको समूह ‘बी’ को खेलमा प्रदेश २ ले गण्डकी प्रदेशलाई २ विकेटले हरायो । पहिलो खेलमा प्रदेश २ एपिएफसँग २४ रनले पराजित भएको थियो ।
गण्डकीले दिएको एक सय १७ रनको विजय लक्ष्य पछ्याएको प्रदेश २ ले १८.१ ओभरमा आठ विकेटको क्षतिमा पूरा गरेको थियो । प्रदेश २ का लागि कप्तान हसिम अन्सारीले सर्वाधिक २६ रन बनाए । सन्तोष कार्कीले २३ र हरिकृष्ण झाले १७ रन बनाए । गण्डकीका कृष्ण पौडेलले तीन विकेट लिए । विशाल पौडेल र सुवास भण्डारीले दुई दुई विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको गण्डकीले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा एक सय १६ रन बनाएको थियो । गण्डकीका लागि अर्जुन कुमालले सर्वाधिक ४१ रन बनाए । सन्दीप क्षेत्रीले २७ जोडेका थिए । बलिङमा प्रदेश २ का आदिल आलमले दुइ तथा हरिशंकर साह, जितेन्द्र यादव र विवेक यादवले एक एक विकेट झारे । जितसँगै प्रदेश २ ले दुई अंक बनाएको छ ।

टिप्पणी लेख्नुहोस्