लेख विवरण

प्याट्रियोट्स कपको उपाधिका लागि ब्लुवर्ड र गोल्डेन गेट भिड्ने

प्याट्रियोट्स कपको उपाधिका लागि ब्लुवर्ड र गोल्डेन गेट भिड्ने

काठमाडौंँ । मुलपानी क्रिकेट मैदानमा जारी प्याट्रियोट्स कप टी २० क्रिकेट प्रतियोगिताको उपाधिका लागि ब्लुवर्ड र गोल्डेन गेट कलेज भिड्ने भएका छन । शुक्रवार सम्पन्न सेमिफाइनल खेलमा ब्लुवर्डले काठमाडौं विश्वविद्यालय र गोल्डेन गेटले ओरिएन्ट कलेजलाई पराजित गर्दे फाइनलमा स्थान बनायो ।

प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा ब्लुवर्ड कलेजले काठमाडौं विश्वविद्यालयलाई ११४ रनले पराजित गर्यो । टस जितेर पहिले ब्याटिङ गरेको ब्लुवर्डले दिपक प्रसाद डुम्रेको सतकमा २० ओभरमा ३ विकेट गुमाएर १६७ रन बनायो । खेलको प्लेयर अफ द म्याच बनेका दिपकले ६८ बलमा १०२ रनको सतकिय पारी खेले । टोलीका लागि रोनलम तिवारीले ३५ बलमा ४१ रन बनाए । बिबेक राना मगर १७ रनमा अविजित रहे । काठमाडौं विश्वविद्यालयका लागि बलिङमा शास्वत पौडेल र करण साउदले समान एक एक विकेट लिए ।

ब्लुवर्डले लिएको १६८ रनको लक्ष्य पछ्याउने क्रममा काठमाडौं विश्वविद्यालयको टोली १५ ओभर १ बलमा ५३ रन बनाउदै अलआउट भयो । टोलीका लागि शास्वत पौडेल (१६), अर्जुन खड्का (११) र निश्चल न्यौपाने (१०)ले रन बनाउनु बाहेक अन्य खेलाडीले दोहरो अंकमा रन बनाउन सकेनन् । काठमाडौंलाई ५३ रनमै रोक्न ब्लुवर्डका सुवाष खत्री र तिलक भण्डारीले समान ३-३ विकेट लिए । मेहोल श्रेष्ठले २ तथा कुशल रुपाखेतीले १ विकेट लिए ।

आजै भएको दोस्रो सेमिफाइनल खेलमा गोल्डेन गेटले ओरिएन्ट कलेजलाई ७७ रनले पराजित गर्यो । टस जितेर पहिले ब्याटिङ गरेको गोल्डेन गेटले निर्धारित २० ओभरको खेलमा ६ विकेट गुमाएर १४५ रन बनायो । टोलीका लागि आशुतोष घिरलियाले सर्वाधिक ४१ रनको योगदान दिए । जभयाङ लामा (१९) र शाल पटेल (१७) रन बनाएर आउट भए । निखिल सिंह ३८ रनमा अविजित रहे । ओरिएन्टका लागि अमित अधिकारीले २ विकेट लिए । रिजन थापा, दिपक महतो र दिनेश बुढा मगरले समान एक एक विकेट लिए ।

गोल्डेन गेटले लिएको १४६ रनको लक्ष्य पछ्याउने क्रममा ओरिएन्ट १६ ओभर एक बलमा अलआउट हुँदै ६८ रनमै रोकियो् । टोलीका लागि दिनेश बुढा मगर (१८), रिजन थापा (१२), बिशाल थापा (१२) र बिबेक ठाकुरले (१०) रन बनाए । ओरिएन्टलाई ६८ रनमा रोक्न गोल्डेन गेटका रवि साहले ३.१ ओभरमा १० रन खर्चदै सर्वाधिक ४ विकेट लिए । उनी खेलको प्लेयर अफ द म्याच घोषित भए । तिर्थ राज दाशले ३ तथा अल्फोज मन्सुरीले २ विकेट लिए ।

१२ कलेज सहभागि प्रतियोगिताको बिजेता टोलीले १ लाख र उपबिजेताले ५० हजार नगद प्राप्त गर्नेछ । उत्कृष्ट खेलाडीले २५ हजार नगद प्राप्त गर्दा बेस्ट बलर तथा ब्याटरले जनही १५ हजार पाउने आयोजकले जनाएको छ । प्रतियोगिताको फाइनल खेल भोली (शनिवार) हुनेछ ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.