पिस प्वाइन्टलाई काठमाडौं प्याब्सन फुटसल उपाधि
काठमाडौं, साउन २५ गते ।
पिस प्वाइन्टले प्याब्सन काठमाडौं छात्र फुटसल प्रतियोगिताको उपाधि आइतबार जितेको छ । पिस प्वाइन्ट अपराजित रहँदै च्याम्पियन बन्यो ।
सुकेधारास्थित बागमती स्कुलमा भएको फाइनलमा पिस प्वाइन्टले एक्टिभलाई ७–१ को फराकिलो गोलअन्तरले पराजित ग¥यो । पिस प्वाइन्टका प्रज्ञान राईले ह्याट्रिक गरे भने दिलिप राई, आयुश लिम्बू, सागर दर्जी र सुमन बमले समान १–१ गोल थपे । एक्टिभका विनोद बुढाथोकीले सान्त्वना गोल फर्काए ।
काठमाडौं प्याब्सनको आयोजना तथा काठमाडौं महानगर प्याब्सनको व्यवस्थापनमा भएको प्रतियोगितामा शुभकामनाले ह्वाइट हेभनलाई ३–१ गोलले हराउदै तेश्रो भयो । शीर्ष तीन स्थान हात पार्नेले क्रमशः २५ हजार, १५ हजार र १० हजार नगद पुरस्कार प्राप्त गरेको काठमाडौं महानगर प्याब्सनका सचिव एवं गण्डकी स्कुलका प्रिन्सिपल आरसी भट्टले जनाएका छन् ।
एक्टिभका विनोद भण्डारी उत्कृष्ट खेलाडी घोषित भए । पिस प्वाइन्टका सागर दर्जी उत्कृष्ट गोलरक्षक चुनिए । प्रतियोगिताभर १२ गोल गरेका पिस प्वाइन्टका प्रज्ञान राई सर्वाधिक गोलकर्ता बने ।
विजेतालाई बागमती प्रदेश प्याब्सनका अध्यक्ष मुरारीप्रकाश सन्जेल, काठमाडौं प्याब्सनका अध्यक्ष नवराज भट्ट, बागमती स्कुलका संस्थापक प्रिन्सिपल सुरेन्द्र सिटौला, प्याब्सन केन्द्रीय सचिवालय सदस्य प्रहलाद खनाल, काठमाडौं महानगर प्याब्सनका अध्यक्ष गगनसिंह ऐर, एन्जल्स हार्ट स्कुलका प्रिन्सिपल धनबहादुर पुन, काठमाडौं महानगर प्याब्सनका इसीए विभाग प्रमुख राजकुमार बोगटीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।
तीनदिने पप्रतियोगतामा काठमाडौं महानगर र काठमाडौंका विभिन्न ९ महानगरपालिका विद्यालयका ४५ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेको प्रतियोगिता संयोजक सुदर्शन जमकटेलले जनाएका छन् । समापनका अवसरमा मेडिकल पार्टनर मेडिकेयर अस्पताल, चावहिल, सुरक्षाकर्मी र बागमती स्कुललाई प्रशंसा पत्रसहित सम्मान गरिएको थियो ।

टिप्पणी लेख्नुहोस्