लेख विवरण

जनबोध माविले लगातार छैठौं पटक जित्यो राष्ट्रपति रनिङ्ग शिल्ड

जनबोध माविले लगातार छैठौं पटक जित्यो राष्ट्रपति रनिङ्ग शिल्ड

रेसुङ्गा (गुल्मी), कात्तिक १ गते । रुरुक्षेत्र गाउँपालिकामा आयोजित राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा जनबोध माध्यमिक विद्यालयले छौं पटक लगातार उपाधि हात पारेको छ ।

रुरुक्षेत्र गाउँपालिकाको घ्युबेँसी खेल मैदानमा गत असोज २९ देखि ३१ गतेसम्म सञ्चालन भएको प्रतियोगितामा जनबोध माविले १४ स्वर्ण, ४ रजत र ५ कास्य गरी कुल २३ पदक हासिल गर्दै राष्ट्रपति रनिङ्ग शिल्ड विजेता भएको हो ।

त्यसैगरी, ग्वादी माविले ७ स्वर्ण, १ रजत र ११ कास्यसहित १९ पदकमा दोस्रो स्थान हासिल गरेको रुरुक्षेत्र गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले जानकारी दिनुभयो । तृतीय स्थान जनज्योति माविले ५ स्वर्ण, ११ रजत र ३ कास्यसहित २१ पदकसहित प्राप्त गरेको छ ।

विजेता जनबोध माविले नगद १० हजार रुपियाँसहित शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने द्वितीय ग्वादी माविले ७ हजार र तृतीय जनज्योति माविले ५ हजार रुपियाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

प्रतियोगिताका प्रमुख अतिथि, लुम्बिनी प्रदेश सभाका पूर्व सदस्य कमलराज श्रेष्ठले खेल क्षेत्रमा युवाहरुको चाहना र भावनालाई दृष्टिगत गर्दै राज्यले निरन्तर योजना र लगानीमा जोड दिनुपर्ने बताए । उनले भविष्यका उत्कृष्ट खेलाडी उत्पादन हुने पहिलो बिन्दु विद्यालय भएकाले प्रतियोगिताहरुलाई निरन्तरता दिन आवश्यक रहेकोमा जोड दिनुभयो ।

रुरुक्षेत्र गाउँपालिका प्रमुख यदु ज्ञवालीले जनबोध माविको निरन्तर सफलताले अरु विद्यालयहरुलाई पनि प्रतिस्पर्धामा उतार्न प्रेरित गर्ने बताए । उनले जनबोध विद्यालय शिक्षा, पूर्वाधार र खेलकुद क्षेत्रमा उत्कृष्ट नमुना विद्यालय रहेको पनि उल्लेख गर्नुभयो ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.