लेख विवरण

केभिआर समिट च्यालेन्ज : मिलन कुलुङ र सोनिया मार्टिन च्याम्पियन

केभिआर समिट च्यालेन्ज : मिलन कुलुङ र सोनिया मार्टिन च्याम्पियन

काठमाडौँ । केभिआर समिट च्यालेन्जको तेस्रो संस्करण अन्तर्गत चौथो चरणको प्रतियोगितामा पुरुषतर्फ मिलन कुलुङ र महिलातर्फ अमेरिकाकी सोनिया मार्टिन पहिलो हुनुभएको छ । ट्रेलमान्डु नेपालको आयोजनामा शनिबार सम्पन्न २५ किलोमिटरको रेसमा उत्कृष्ट प्रदर्शन गर्दै दुवैले उपाधि हात पार्नुभएको हो ।

२५ किलोमिटर पुरुषतर्फ मिलन कुलुङले दुई घन्टा २३ मिनेट २४ सेकेन्ड समय लगाउँदै पहिलो स्थान हासिल गर्नुभयो । नेपालकै लोकेन्द्र राई दुई घन्टा २६ मिनेट १६ सेकेन्डमा दोस्रो तथा दिवाकर बुढामगर तीन घन्टा ११ मिनेट ३५ सेकेन्ड समयसहित तेस्रो स्थानमा रहनुभयो ।

महिलातर्फ अमेरिकाकी सोनिया मार्टिनले तीन घन्टा २८ मिनेट ९ सेकेन्ड समय लगाउँदै पहिलो स्थान प्राप्त गर्नुभयो । सोनियाले गत महिना सम्पन्न तेस्रो चरणमा पनि उपाधि जितेकी थिइन् । एनी माइ बान तीन घन्टा ३२ मिनेट ५३ सेकेन्डमा दोस्रो हुँदा बेलायतकी सेली रेबेका चार घन्टा ४ मिनेट ३३ सेकेन्ड समयसहित तेस्रो स्थानमा रहिन् ।

१० किलोमिटर दौडतर्फ पुरुषमा स्विट्जरल्यान्डका सिमन डाल्चरले एक घन्टा १८ मिनेट ४८ सेकेन्ड समयसहित पहिलो स्थान हात पारे । नेपालका प्रेमबहादुर सुनुवार केवल पाँच सेकेन्डले पछि पर्दै दोस्रो भए भने मिङमा ग्याल्सेन शेर्पा (१ घन्टा ३१ मिनेट ४३ सेकेन्ड) तेस्रो स्थानमा रहे ।

१० किलोमिटर महिलातर्फ जापानकी मायुको आकुतागावाले एक घन्टा २८ मिनेट ३८ सेकेन्ड समयसहित पहिलो स्थान जितिन् । बेलायतकी इलियाना मारिया ड्रापर (१ः५७.१५) दोस्रो र अमेरिकाकी इरिका मिक्स (२ः०३.०८) तेस्रो भइन् ।

२५ किलोमिटरको दौड मच्छेगाउँ–मातातीर्थबाट सुरु भई चन्द्रागिरी केबलकार आधार स्टेशन, चन्द्रागिरी मन्दिर, धापभञ्ज्याङ, बुद्ध स्तूप, मच्छेनारायण मन्दिर हुँदै पुनः मच्छेगाउँमै पुगेर सम्पन्न भएको थियो ।

प्रतियोगितामा नेपालका ६६ र २४ विदेशी धावक–धाविकासहित कुल ९० जनाको सहभागिता रहेको थियो । विजेताहरूलाई नेपाल ओलम्पिक कमिटीका प्रतिनिधि निरज श्रेष्ठ तथा नेपाल खेलकुद विज्ञान प्रतिष्ठानका उपनिर्देशक राजेन्द्र तुलाधरले पुरस्कार प्रदान गर्नुभएको थियो ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.