मलेसिया — भर्खरै सम्पन्न हिमालय गोल्डकप अन्तर्गत पहिलो सेमीफाइनल खेलपछि रेफ्रीको निर्णयलाई लिएर विवाद चुलिएको छ। Himalayan FC र N Penang FC बीच भएको प्रतिस्पर्धात्मक खेलमा सम्भावित पेनाल्टी नदिइएको विषय सामाजिक सञ्जालमा व्यापक चर्चा र आरोप–प्रत्यारोपको कारण बनेको हो।
खेलपछिको प्रतिक्रियामा एन पेनाङ एफसीका सचिव शिव खड्काले रेफ्रीका केही निर्णयप्रति असन्तुष्टि जनाउँदै ती निर्णयहरूले खेलको नतिजामा प्रभाव पारेको उल्लेख गर्नुभयो। उहाँले विवादास्पद निर्णयहरूको निष्पक्ष समीक्षा हुनुपर्ने र आयोजक पक्षसँग आवश्यक स्पष्टिकरण माग गरिएको जानकारी दिनुभयो। साथै, क्लबले आधिकारिक प्रक्रियामार्फत आफ्ना धारणा राखेको स्पष्ट पार्दै खेल भावना र अनुशासनलाई सम्मान गर्ने बताउनुभयो।
यता आयोजक समितिले औपचारिक वक्तव्य जारी गर्दै पेनाल्टी नदिएको निर्णय पूर्ण रूपमा रेफ्रीको प्राविधिक मूल्याङ्कन र खेलको अवस्थाअनुसार गरिएको स्पष्ट पारेको छ। फुटबल तीव्र र गतिशील खेल भएकाले निर्णयहरू रेफ्रीको नजिकबाट गरिएको अवलोकन, कोण (angle) र खेलको प्रवाह (flow) मा आधारित हुने उल्लेख गरिएको छ।
आयोजकले “Setting”, “Bias” वा “Referee किनेको” जस्ता आरोपहरू पूर्ण रूपमा निराधार र तथ्यविहीन रहेको दाबी गरेको छ। प्रतियोगिता सञ्चालनका लागि नेपालिज फुटबल एसोसिएसन मलेसिया (NFA) सँग समन्वय गर्दै व्यावसायिक मलेसियन राष्ट्रिय रेफ्रीहरू खटाइएको र उनीहरूलाई पूर्ण स्वतन्त्रता प्रदान गरिएको जनाएको छ। रेफ्रीको निर्णय नै खेलको अन्तिम कानुनी निर्णय हुने भएकाले त्यसलाई सबै पक्षले सम्मान गर्नुपर्ने आयोजकको भनाइ छ।
आयोजक समितिले प्रतियोगिताको उद्देश्य कुनै टोलीलाई जिताउनु नभई प्रवासमा नेपाली समुदायबीच फुटबलको विकास, एकता र सकारात्मक छवि निर्माण गर्नु रहेको स्पष्ट पारेको छ। साथै, हार–जित खेलको स्वाभाविक प्रक्रिया भएको उल्लेख गर्दै सबै टोली, खेलाडी र समर्थकलाई खेल भावना कायम राख्न आग्रह गरिएको छ।
विवादका कारण उत्पन्न हुन गएको असहज परिस्थितिप्रति आयोजकले क्षमायाचना समेत व्यक्त गरेको छ।
प्रतिस्पर्धात्मक बनेको सेमीफाइनल खेलपछि देखिएको विवादले प्रतियोगितालाई थप चर्चा र चासोको केन्द्रमा ल्याएको छ।
हाम्रो न्यूजलेटरको सदस्यता लिनुहोस्।
Don’t have an account? Register Now and enjoy all our benefits!
टिप्पणी लेख्नुहोस्