आईपीएल २०२६:: खराब फर्ममा रहेको लखनऊलाई राहत, मे ४ अघि नै टोलीमा जोडिँदै जोस इङ्लिस
लखनऊ (एजेन्सी) – इन्डियन प्रिमियर लिग (IPL) २०२६ मा संघर्ष गरिरहेको लखनऊ सुपर जायन्ट्स (LSG) का लागि सुखद खबर आएको छ। अस्ट्रेलियाका विष्फोटक विकेटकिपर-ब्याटर जोस इङ्लिस आगामी मे ४ तारिखमा मुम्बई इन्डियन्सविरुद्ध हुने खेलअघि नै टोलीमा सामेल हुने पक्का भएको छ।
३१ वर्षीय इङ्लिसले आफ्नो विवाहका लागि छुट्टी लिएका कारण आइपिएलको पहिलो आधा सिजन गुमाएका थिए। उनले १८ अप्रिलमा आफ्नी प्रेमिका मेगनसँग विवाह गरेका हुन्। सुरुमा उनी मे अन्त्यतिर मात्र फर्कने तालिका भए पनि लखनऊको कमजोर प्रदर्शन र विदेशी खेलाडीको अभावका कारण उनले आफ्नो विदा छोटो पारेर भारत आउने निर्णय गरेका हुन्।
लखनऊले यस सिजनको अक्सनमा इङ्लिसलाई ८.६० करोड भारुमा अनुबन्ध गरेको थियो। हाल लखनऊको टोलीमा विदेशी खेलाडीको संख्या कम छ र उपलब्ध खेलाडीहरू पनि फर्ममा छैनन्। विशेषगरी निकोलस पुरनको खराब फर्म (६ खेलमा मात्र ५१ रन) का कारण लखनऊको मध्यक्रम निकै कमजोर देखिएको छ।
इङ्लिस आउने तयारी भइरहँदा लखनऊलाई अर्को झट्का पनि लागेको छ। दक्षिण अफ्रिकी तीव्र गतिका बलर एनरिच नोर्कियाले व्यक्तिगत कारण देखाउँदै गत हप्ता नै लखनऊको क्याम्प छोडेर स्वदेश फर्किएका छन्। यस सिजनमा उनले दिल्ली क्यापिटल्सविरुद्ध एउटा मात्र खेल खेलेका थिए।
टिप्पणी लेख्नुहोस्