ओमान विरुद्धको एक दिवसीय सिरिजका लागि ‘नेपाल ए’ टिमको घोषणा, अनिल शाहले कप्तानी गर्ने
काठमाडौं, वैशाख ८ (अप्रिल २१) ।
नेपाल क्रिकेट संघ (क्यान) ले ओमान विरुद्ध हुने आगामी दुई खेलको एक दिवसीय सिरिजका लागि ‘नेपाल ए’ क्रिकेट टोलीको घोषणा गरेको छ । माथिल्लो मुलपानी क्रिकेट मैदानमा आयोजना हुने यस सिरिजका लागि क्यानले अनिल कुमार साहको कप्तानीमा १४ सदस्यीय टोली सार्वजनिक गरेको हो ।
क्यानले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै आगामी अप्रिल २२ र २४ (वैशाख ९ र ११ गते) मा हुने खेलका लागि टोलीको टुङ्गो लागेको जानकारी दिएको छ ।
यस्तो छ घोषित नेपाली टोली: प्रशिक्षक र छनोट समितिले अनुभवी र युवा खेलाडीहरूको समिश्रण गर्दै टोली तयार पारेको छ। घोषित टोलीमा कप्तान अनिल कुमार साहका साथै देव खनाल, कुशल मल्ल, र सन्दीप जोरा जस्ता प्रभावशाली खेलाडीहरू रहेका छन् ।
टोलीका सदस्यहरू: १. अनिल कुमार साह (कप्तान) २. देव खनाल ३. ईशान पाण्डे ४. सन्दीप जोरा ५. तृत राज दास ६. कुशल मल्ल ७. सन्तोष यादव ८. रसिद खान ९. साहब आलम १०. हेमन्त धामी ११. रिजन ढकाल १२. आकाश चन्द १३. युवराज खत्री १४. शेर मल्ल
नेपाल क्रिकेट संघका प्रवक्ता छुम्बी लामाका अनुसार ओमान र नेपाल ए बीचको यो सिरिज नेपाली युवा खेलाडीहरूको क्षमता प्रदर्शनका लागि महत्वपूर्ण अवसर हुनेछ । दुवै खेल माथिल्लो मुलपानी क्रिकेट मैदानमा सञ्चालन हुनेछन् ।
टिप्पणी लेख्नुहोस्