लेख विवरण

ओमानसँगको हारपछि कप्तान अनिल शाहको स्वीकारोक्ति: 'शीर्ष क्रमले जिम्मेवारी लिनु पर्थ्यो, हामी क्याल्कुलेसनमा चुक्यौं'

ओमानसँगको हारपछि कप्तान अनिल शाहको स्वीकारोक्ति: 'शीर्ष क्रमले जिम्मेवारी लिनु पर्थ्यो, हामी क्याल्कुलेसनमा चुक्यौं'

काठमाडौं । ओमानविरुद्धको एकदिवसीय खेलमा पराजित भएपछि नेपाल 'ए' टोलीका कप्तान अनिल शाहले ब्याटिङमा शीर्ष क्रमका ब्याट्सम्यानहरूले जिम्मेवारी लिन नसक्दा हार बेहोर्नु परेको बताएका छन्। खेलपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै अनिलले टोलीको योजना र मैदानको प्रदर्शनबीच तालमेल नमिलेको स्वीकार गरे।

मुख्य कमजोरी: क्याल्कुलेसन र फिनिसिङ

अनिलका अनुसार टप अर्डरले राम्रो सुरुवात पाए पनि त्यसलाई खेल जिताउने गरी अन्त्य (फिनिस) गर्न सकेनन्। "टप फोरले जुन हिसाबको सुरुवात पाएको थियो, त्यसमा अझ बढी जिम्मेवारी लिनु पर्थ्यो। हामी क्याल्कुलेसनमा चुक्यौं जस्तो लाग्छ," उनले भने। खेलको मध्य भागमा देव खनाल र कुशल मल्ल क्रिजमा हुँदा रन बलको स्थिति रहे पनि हतार गर्दा विकेट गुमेको उनको विश्लेषण थियो।

बलिङमा कन्ट्रोलको अभाव

बलिङतर्फ पनि सुरुवाती पावरप्लेमा रन रोक्न नसक्नु र अर्ली विकेट लिन नसक्नु हारको अर्को कारण रहेको अनिलले बताए। उनले भने, "हामीले २५० रनभन्दा मुनि रोक्ने सोचेका थियौँ। डेथ ओभरमा नियन्त्रण गर्न खोज्दा खोज्दै पनि धेरै अप्सन हुँदा केही कन्फ्युजन जस्तो देखियो"।

सिनियर टिम र फिनिसिङको समस्या

अन्तिम ३० रन बनाउन ८ विकेट गुमाउनु चिन्ताको विषय रहेको प्रश्नमा उनले भने कि यो समस्या सिनियर टोलीमा पनि देखिने गरेको छ। "हाम्रो बानी नै नटआउट भएर लामो इनिङ खेल्ने, १००-१५० रन बनाउने छैन। सेट भइसकेका ब्याट्सम्यानले नै रेस्पोन्सिबिलिटी लिनुपर्छ"।

युवा खेलाडी र आगामी योजना

युवा बलर सन्तोष यादवको प्रदर्शनको प्रशंसा गर्दै अनिलले उनले बलिङमा आत्मविश्वास देखाएको बताए। ३२ जनाको क्याम्पबाट छानिएका १४ खेलाडीबीचको यो प्रतिष्पर्धालाई उनले 'हेल्दी कम्पिटिसन' को रूपमा लिएका छन्। अब अर्को खेलमा थप जिम्मेवारीका साथ मैदान उत्रने र जित निकाल्ने कोसिस गर्ने उनले बताए।

नेपाल क्रिकेट संघ (क्यानी) ले खेलाडीहरूलाई व्यस्त राख्न नेपाल 'ए' को खेलहरू आयोजना गर्नु नेपाली क्रिकेटका लागि सुखद संकेत भएको पनि कप्तान अनिल शाहको धारणा थियो।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.