लेख विवरण

नेपाल 'ए' विरुद्धको जितपछि ओमानका कप्तान जतिन्दर सिंह भन्छन् - 'नेपाल कठिन टोली हो, हामी चुनौतीका लागि तयार छौं'

नेपाल 'ए' विरुद्धको जितपछि ओमानका कप्तान जतिन्दर सिंह भन्छन् - 'नेपाल कठिन टोली हो, हामी चुनौतीका लागि तयार छौं'

काठमाडौं । नेपाल 'ए' विरुद्धको अभ्यास खेलमा जित हात पारेपछि ओमानका कप्तान जतिन्दर सिंहले नेपाली टोलीको प्रशंसा गर्दै आफूहरू आगामी श्रृंखलाका लागि तयार रहेको बताएका छन्। खेलपछि प्रतिक्रिया दिँदै सिंहले नेपालमा खेल्नु सधैं चुनौतीपूर्ण हुने र नेपाली टोलीमा राम्रा प्रतिभाहरू रहेको उल्लेख गरे।

कप्तान जतिन्दरले २७० रनको लक्ष्य चुनौतीपूर्ण भए पनि नेपाल 'ए' ले निकै राम्रो सुरुवात गरेको बताए। "नेपाल एक कठिन टोली हो र नेपाल 'ए' मा केही गम्भीर प्रतिभाहरू छन्," उनले भने। नेपालले खेलको सुरुवात जुन हिसाबले गर्यो, त्यसले आफूहरूलाई बीचको ओभरमा दबाबमा राखेको उनले स्वीकार गरे।

आफ्नो टोलीको प्रदर्शनप्रति सन्तुष्टि व्यक्त गर्दै उनले ओमान हालै नामिबियामा खेलेर आएकाले खेलाडीहरू लयमै रहेको बताए। "हाम्रो टोलीमा मात्र तीनवटा परिवर्तन छन्, अरू सबै नियमित खेलिरहेका खेलाडी हुन्। यहाँको फरक परिस्थिति र पिचमा खेलाडीहरूले देखाएको क्यारेक्टरबाट म खुसी छु," उनले थपे।

विश्वकप लिग-२ को सन्दर्भमा सोधिएको प्रश्नमा जतिन्दरले कुनै पनि टोलीलाई कम नआँक्ने बताए। नेपाल हाल केही दबाबमा रहे पनि मैदानमा जसले कम गल्ती गर्छ र राम्रो खेल्छ, उसैले जित्ने उनको तर्क छ। उनले भने, "हामी धेरै उत्साहित हुनुभन्दा पनि खेलपिच्छे योजना बनाएर अघि बढ्नेछौं। हाम्रो लागि यो एक नयाँ सुरुवात हुनेछ"।

नेपाली ब्याट्सम्यानहरू बायाँ हाते स्पिनरविरुद्ध केही संघर्ष गर्ने गरेको प्रसङ्गमा उनले आफ्नो टोलीमा तीनजना बायाँ हाते बलरहरू रहेको र उनीहरू मैदानमा उत्रन तयार रहेको बताए। नेपालसँग पनि राम्रा बायाँ हाते स्पिनरहरू भएकाले आगामी सिरिजमा यी बलरहरूबीचको प्रतिस्पर्धा रोचक हुने उनको अनुमान छ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.