लेख विवरण

आइसिसी महिला टी-२० च्यालेन्ज: रोमाञ्चक खेलमा नेपालले घरेलु टोली रुवान्डालाई २ विकेटले हरायो

आइसिसी महिला टी-२० च्यालेन्ज: रोमाञ्चक खेलमा नेपालले घरेलु टोली रुवान्डालाई २ विकेटले हरायो

काठमाडौँ । आइसिसी महिला टी-२० च्यालेन्ज अन्तर्गत बुधबार भएको खेलमा नेपालले घरेलु टोली रुवान्डामाथि रोमाञ्चक जित दर्ता गरेको छ। किगालीस्थित गहङ्गा क्रिकेट ओभलमा भएको खेलमा नेपालले रुवान्डालाई २ विकेटले पराजित गर्दै प्रतियोगितामा महत्त्वपूर्ण अङ्क जोडेको हो।

रुवान्डाले दिएको ८९ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले १९.४ ओभरमा ८ विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो। नेपालको जितमा सम्झना खड्काले उत्कृष्ट ब्याटिङ गर्दै सर्वाधिक ४८ रनको योगदान दिइन्। यस्तै पूजा महतोले १३ र बिन्दु रावलले १० रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अङ्क छुन सकेनन्। मध्यम लक्ष्य भए पनि नेपाली टोलीले अन्तिम ओभरसम्म संघर्ष गर्नु परेको थियो।

यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको रुवान्डा १९.४ ओभरमा ८८ रनमै अलआउट भएको थियो। रुवान्डाका ४ ब्याटरले मात्र दोहोरो अङ्क बनाउन सफल भए।

रुवान्डालाई सस्तोमा समेट्न नेपालकी रचना चौधरीले घातक बलिङ गर्दै ३ विकेट लिइन्। यस्तै, पूजा महतो र कविता कुँवरले समान २-२ विकेट झारे भने मनिषा उपाध्याय र रिया शर्माको नाममा १-१ विकेट रह्यो।

यो जितसँगै नेपालले ४ अङ्क जोडेको छ। घरेलु टोली रुवान्डाले पनि ४ खेलमध्ये २ मा जित निकाल्दै ४ अङ्क नै बनाएको छ। रुवान्डाको मैदानमा नेपालले देखाएको यो प्रदर्शनले आगामी खेलहरूका लागि नेपाली महिला टोलीको मनोबल उच्च बनाएको छ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.