आईपीएल २०२६: राजस्थान रोयल्सको सानदार जित, लखनउ आफ्नै मैदानमा पराजित
लखनउ । इण्डियन प्रिमियर लिग (IPL) २०२६ को ३२औँ खेलमा राजस्थान रोयल्सले लखनउ सुपर जाइन्ट्सलाई ४० रनले पराजित गरेको छ। बुधबार राति लखनउस्थित एकना स्टेडियममा भएको खेलमा राजस्थानले दिएको १६० रनको लक्ष्य पछ्याएको घरेलु टोली लखनउ १८ ओभरमा मात्र ११९ रनमा समेटियो।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको राजस्थान रोयल्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५९ रन बनाएको थियो। राजस्थानका लागि रविन्द्र जडेजाले विष्फोटक ब्याटिङ गर्दै २९ बलमा ४३ रन जोडे। त्यस्तै, शिमरोन हेटमायरले २२ र ओपनर यशस्वी जयसवालले २२ रनको योगदान दिए। रियान परागले २० र डोनोभान फेरेराले २० रन बनाए।
लखनउका लागि बलिङतर्फ मोहसिन खान, मोहम्मद शामी र प्रिन्स यादवले समान २-२ विकेट लिए पनि रन रोक्न भने कठिन भएको थियो।
१६० रनको लक्ष्य पछ्याएको लखनउको सुरुवात खराब रह्यो। मिचेल मार्सले ४१ बलमा ५५ रनको अर्धशतकीय इनिङ खेले पनि अन्य ब्याट्सम्यानले उनलाई साथ दिन सकेनन्। निकोलस पुरनले २२ रन जोडे भने कप्तान ऋषभ पन्त र एडेन मार्क्रम खाता नै नखोली पभेलियन फर्किए। आयुष बदोनी पनि शून्यमै आउट भएपछि लखनउ दबाबमा आएको थियो।
लखनउको इनिङ धराशयी बनाउन राजस्थानका जोफ्रा आर्चरले घातक बलिङ गरे। उनले ४ ओभरमा मात्र २० रन खर्चेर ३ महत्त्वपूर्ण विकेट लिए। त्यस्तै नान्द्रे बर्गर र ब्रिजेश शर्माले २-२ विकेट लिए भने रविन्द्र जडेजा र रवि विस्नोइको नाममा १-१ विकेट रह्यो।
यो जितसँगै राजस्थान रोयल्सले तालिकामा आफ्नो स्थान थप बलियो बनाएको छ भने लखनउका लागि यो सिजन थप चुनौतीपूर्ण बन्दै गएको छ। खेलको 'प्लेयर अफ दि म्याच' अलराउण्ड प्रदर्शन गरेका रविन्द्र जडेजा घोषित भए।
स्कोरकार्ड:
-
राजस्थान रोयल्स: १५९/६ (२० ओभर)
-
लखनउ सुपर जाइन्ट्स: ११९ (१८ ओभर)
-
नतिजा: राजस्थान ४० रनले विजयी।
टिप्पणी लेख्नुहोस्