यूएई विरुद्ध सन्दीप लामिछानेको सानदार बलिङ: "टोलीको योजना सफल पार्न पाउँदा खुसी छु"
काठमाडौं । त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्धको खेलमा स्पिनर सन्दीप लामिछानेले उत्कृष्ट बलिङ प्रदर्शन गरेका छन्। उनले आफ्नो ४ ओभरको स्पेलमा मात्र ६ रन खर्चेर ३ महत्वपूर्ण विकेट लिँदै नेपालको जितको आधार तय गरे।
खेलपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै लामिछानेले आफ्नो प्रदर्शन र टोलीको रणनीतिका बारेमा जानकारी दिएका छन्।
सन्दीपले आजको खेलमा टस महत्वपूर्ण रहेको र हिजोको कमजोरीलाई सुधार्दै आज टोलीले एक ढिक्का भएर प्रदर्शन गरेको बताए। "सुरुवातदेखि नै हाम्रा ओपनिङ बलरहरूले विपक्षीलाई दबाबमा राखेका थिए, जसका कारण मलाई बलिङ गर्न आउँदा निकै सहज भयो," उनले भने। आफ्नो व्यक्तिगत प्रदर्शनबारे बोल्दै उनले लामो समयदेखिको मिहिनेत र टोलीले बनाएको योजनालाई मैदानमा उतार्न सफल भएकोमा सन्तुष्टि व्यक्त गरे।
आईसीसी क्रिकेट विश्वकप लिग-२ को पूर्वसन्ध्यामा आफ्नो लयलाई लिएर सन्दीप उत्साहित देखिएका छन्। उनले हरेक खेललाई गम्भीरतापूर्वक लिने र मैदानमा गएर खेलको आनन्द लिने आफ्नो मुख्य उद्देश्य रहेको बताए। "हामी हाम्रा घरेलु मैदानमा हुने ८ वटा खेलहरूलाई अधिकतम सदुपयोग गर्न चाहन्छौँ, जुन हाम्रा लागि ठूलो अवसर हो," उनले थपे।
नयाँ कप्तान दिपेन्द्र सिंह ऐरीको नेतृत्वको प्रशंसा गर्दै सन्दीपले उनलाई एक 'शानदार लिडर' को संज्ञा दिएका छन्। मैदानमा आफूलाई कसरी प्रस्तुत गर्ने भन्ने कुरामा दिपेन्द्र एक उत्कृष्ट उदाहरण भएको उनको भनाइ थियो। साथै, प्रधानमन्त्री कप जस्ता प्रतियोगिताहरूले गर्दा नेपालमा नयाँ र प्रतिभाशाली खेलाडीहरूको कमी नरहेको र क्यानले खेल संख्या बढाएर युवाहरूलाई राम्रो प्ल्याटफर्म दिएकोमा उनले खुसी व्यक्त गरे।
टोली छनोट र टी-२० तथा एकदिवसीयका लागि अलग-अलग टोली बनाउने निर्णयबारे सोधिएको प्रश्नमा सन्दीपले आफू केवल एक खेलाडी भएको र आफ्नो काम मैदानमा उत्कृष्ट प्रदर्शन गर्नु मात्र रहेको स्पष्ट पारे। उनले भने, "म न त छनोटकर्ता हुँ न त अन्य केही, मेरो काम आउने र आफ्नो टोलीका लागि शतप्रतिशत योगदान दिने हो।"
नेपालले यो सिरिजमा देखाएको प्रदर्शनले आगामी अन्तर्राष्ट्रिय प्रतियोगिताहरूका लागि सकारात्मक संकेत दिएको छ।
टिप्पणी लेख्नुहोस्