लेख विवरण

"आइपिएल भन्दा अन्तर्राष्ट्रिय एसोसिएट क्रिकेट कठिन छ" - युएईका ब्याटर अक्षदीप सिंह

काठमाडौं । भारतीय प्रसिद्ध क्रिकेट लिग (आइपिएल) का तीनवटा टोलीबाट खेलिसकेका युएईका ब्याटर अक्षदीप सिंहले फ्रेन्चाइज क्रिकेटको तुलनामा अन्तर्राष्ट्रिय एसोसिएट क्रिकेट खेल्न बढी चुनौतीपूर्ण रहेको बताएका छन्।

नेपाल विरुद्धको खेलपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सिंहले खेलको अनुभव, पिचको अवस्था र आफ्नो क्रिकेट यात्राबारे रोचक खुलासा गरेका हुन्।

सिंहका अनुसार आइपिएलमा राम्रो पिच उपलब्ध हुने भए पनि एसोसिएट देशहरूमा हुने अन्तर्राष्ट्रिय खेलहरूमा पिच र परिस्थितिको सामना गर्नु बढी कठिन हुन्छ। "फ्रेन्चाइज क्रिकेट खेल्नु केही हदसम्म सजिलो हुन सक्छ, तर आफ्नो राष्ट्रका लागि खेल्दा दबाब धेरै हुन्छ," उनले भने। नेपालको घरेलु मैदानमा दर्शकहरूको ठूलो उपस्थिति र यहाँको स्पिनमैत्री पिचमा खेल्नु आफ्नो लागि निकै चुनौतीपूर्ण रहेको उनले स्वीकार गरे।

अक्षदीपले टियु क्रिकेट मैदानको पिचमा बल केही तल बस्ने र स्पिन हुने भएकाले ब्याटिङ गर्न कठिन भएको बताए। विशेषगरी सन्दीप लामिछानेको नेतृत्वमा रहेको नेपाली बलिङ अट्याकको उनले प्रशंसा गरे। ५० रन नपुग्दै ६ विकेट गुमेको अवस्थामा आफू र आर्यन लाक्राले एउटा सम्मानजनक योगफलसम्म पुर्याउन साझेदारी गरेको उनले जानकारी दिए। यद्यपि, टोलीको स्कोर १६० सम्म पुगेको भए नेपाल विरुद्ध राम्रो प्रतिस्पर्धा हुन सक्ने उनको ठम्याइ थियो।

भारतमा रहँदा ठूला राज्यहरूबाट अवसर पाउन गाह्रो भएपछि आफू अवसरको खोजीमा युएई पुगेको उनले बताए। युएईमा तीन वर्षको बसाई र योग्यता पुरा गरेपछि मात्र आफूले राष्ट्रिय टोलीबाट खेल्ने मौका पाएको उनले खुलाए।

आगामी हप्ताहरूमा हुने आईसीसी विश्वकप लिग-२ का खेलहरू युएई र नेपाल दुवैका लागि निकै महत्वपूर्ण रहेको उनले बताए। अहिले अंक तालिकाको पुछारमा रहे पनि आगामी खेलहरू जितेर तालिकामा माथि उक्लने युएईको लक्ष्य रहेको उनले बताए। उनले ओमान पनि बलियो टोलीका रूपमा आएकाले आगामी शृङ्खला निकै प्रतिस्पर्धात्मक हुने संकेत गरे।

अक्षदीपले किंग्स इलेभेन पन्जाब, गुजरात लायन्स र रोयल च्यालेन्जर्स बैंगलोर जस्ता आइपिएल टोलीहरूबाट खेलिसकेका छन्।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.