टी–२० विश्वकपमा 'म्याच फिक्सिङ'को डरलाग्दो रूप: क्यानेडियन खेलाडीले सुरक्षा मागेपछि तरंग
एजेन्सी ।
अन्तर्राष्ट्रिय क्रिकेटमा म्याच फिक्सिङ र संगठित अपराधको गम्भीर साँठगाँठको खुलासा भएपछि खेल जगत स्तब्ध बनेको छ। टी–२० विश्वकप २०२६ को दौरान क्यानाडाका एक क्रिकेटरले म्याच फिक्सरहरूको धम्की र आफ्नो ज्यानको खतरा रहेको भन्दै सुरक्षा अधिकारीहरूसँग गुहार मागेको बताएपछि यो विषयले विश्वव्यापी चर्चा पाएको हो।
भर्खरै सार्वजनिक भएका विवरणअनुसार क्यानाडाको राष्ट्रिय टोलीका खेलाडीहरूलाई खेलको नतिजा प्रभावित पार्न बाह्य समूहले दबाब दिएको पाइएको छ। क्यानेडियन सञ्चारमाध्यम (सीबीसी) को 'द फिफ्थ स्टेट' ले सार्वजनिक गरेको खोजमूलक रिपोर्टअनुसार भारतको चर्चित लरेन्स बिश्नोई ग्याङले क्यानेडियन क्रिकेटका केही सदस्य र अधिकारीहरूलाई धम्की दिएको दाबी गरिएको छ।
नाम नखुलाइएका एक क्यानेडियन क्रिकेटरले आफूलाई फिक्सिङका लागि प्रस्ताव गरिएको र अस्वीकार गर्दा आफ्नो र परिवारको सुरक्षामा खतरा रहेको भन्दै प्रहरी र आईसीसीको एन्टि–करप्सन युनिट (ACU) लाई जानकारी गराएको बताएका छन्। ती खेलाडीका अनुसार फिक्सरहरूले उनलाई र उनको परिवारलाई पछ्याउने र मानसिक दबाब दिने काम गरेका थिए।
गत फेब्रुअरी १७ भारतको चेन्नईमा भएको क्यानाडा र न्युजिल्याण्ड बीचको खेललाई आईसीसीले विशेष निगरानीमा राखेको छ। सो खेलमा कप्तान दिलप्रित बाजवाले एक ओभरमा १५ रन खर्चिएका थिए, जसमा अनौठा नो–बल र वाइड बलहरू समावेस थिए। सोही प्रदर्शनलाई लिएर अहिले अनुसन्धान केन्द्रित गरिएको छ।
यस घटनापछि अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले क्यानाडा क्रिकेटमाथि गम्भीर अनुसन्धान सुरु गरेको छ। क्रिकेट क्यानाडाले आफ्ना खेलाडी र अधिकारीहरूको सुरक्षा पहिलो प्राथमिकता रहेको र अनुसन्धानमा पूर्ण सहयोग गर्ने प्रतिवद्धता जनाएको छ।
संगठित अपराध र अन्डरवर्ल्डका समूहहरूले क्रिकेटको नतिजालाई आफ्नो मुठ्ठीमा राख्न खोजेको यो पछिल्लो खुलासाले खेलको निष्पक्षतामाथि नै गम्भीर प्रश्न खडा गरेको छ। यो प्रकरणले आगामी दिनमा अन्तर्राष्ट्रिय क्रिकेटमा सुरक्षा र भ्रष्टाचार नियन्त्रणका लागि नयाँ चुनौती थपेको छ।
स्रोत: MSN/CBC Sports
टिप्पणी लेख्नुहोस्