लेख विवरण

पीएसएल २०२६: १७ वर्षीय अली रजाको ऐतिहासिक उपलब्धि, टी-२० क्रिकेटमा ह्याट्रिक गर्ने कान्छा पाकिस्तानी बलर

पीएसएल २०२६: १७ वर्षीय अली रजाको ऐतिहासिक उपलब्धि, टी-२० क्रिकेटमा ह्याट्रिक गर्ने कान्छा पाकिस्तानी बलर

लाहोर । पाकिस्तान सुपर लिग (PSL) २०२६ अन्तर्गत कराँची किंग्स विरुद्धको खेलमा पेशावर जाल्मीका युवा तीव्र बलर अली रजाले नयाँ इतिहास रचेका छन्। १७ वर्षको उमेरमा ह्याट्रिक पुरा गर्दै उनी टी-२० क्रिकेटको इतिहासमा ह्याट्रिक गर्ने सबैभन्दा कान्छा पाकिस्तानी बलर बनेका छन्।

गद्दाफी स्टेडियममा भएको खेलमा अली रजाले कराँची किंग्सको इनिङको अन्तिम ओभरहरूमा घातक बलिङ गर्दै लगातार तीन बलमा तीन विकेट लिएका हुन्। उनले कराँचीका मध्यक्रमका ब्याट्सम्यानहरूलाई क्रिजमा टिक्न दिएनन् र आफ्नो स्पेलमा कुल ४ विकेट लिन सफल भए। उनको यो प्रदर्शनले कराँचीलाई विशाल योगफल बनाउनबाट रोकेको थियो।

यसअघि पाकिस्तानका लागि विभिन्न बलरहरूले ह्याट्रिक गरे पनि १७ वर्षको कलिलो उमेरमा यो सफलता हात पार्ने रजा पहिलो खेलाडी हुन्। उनले आफ्नो धारिलो गतिको बाउन्सर र सटिक योर्करका कारण खेल अवधिभर कराँचीका ब्याटरहरूलाई दबाबमा राखेका थिए।

रजाको कीर्तिमानी बलिङको मद्दतले पेशावर जाल्मीले कराँची किंग्सलाई १८२ रनमा रोक्न सफल भएको थियो। पछि कुशल मेन्डिस र फरहान युसुफको सानदार ब्याटिङले पेशावरले उक्त लक्ष्य सहजै पूरा गर्‍यो। खेलपछि कप्तान बाबर आजमले अली रजाको प्रशंसा गर्दै उनलाई 'पाकिस्तान क्रिकेटको भविष्य' को रूपमा चित्रण गरेका छन्।

यो जितसँगै पेशावर जाल्मी अङ्क तालिकाको शीर्ष स्थानमा आफ्नो पकड बलियो बनाउन सफल भएको छ भने अली रजा रातारात विश्व क्रिकेटको चर्चामा आएका छन्।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.