ओमानको मनोबल गिराएर विश्वकप लिग–२ मा पठाउने हाम्रो लक्ष्य थियो: इशान पाण्डे
काठमाडौं । नेपाली 'ए' टोलीका ब्याटर इशान पाण्डेले ओमानविरुद्धको अभ्यास खेलमा प्राप्त जितले टोलीको उत्साह बढाएको बताएका छन् । ओमानलाई कम्फर्टेबल अन्तरले पराजित गरेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पाण्डेले ओमानको कन्फिडन्स (आत्मबल) कमजोर बनाउँदै उनीहरूलाई विश्वकप लिग–२ मा पठाउने आफूहरूको मुख्य रणनीति रहेको खुलाए ।
"ओमानका लागि यो अभ्यास खेल भए पनि उनीहरूलाई पराजित गरेर मनोबल गिराउन सकियो भने लिग–२ मा नेपालको मुख्य टोलीलाई सहज हुन्छ भन्ने हाम्रो योजना थियो," पाण्डेले भने। उनले जुनसुकै स्तरको क्रिकेट भए पनि हारले टोलीमा दबाब सिर्जना गर्ने र त्यसको फाइदा नेपाललाई पुग्ने विश्वास व्यक्त गरे।
ब्याटिङ रणनीति र देव खनालसँगको साझेदारी
खेलको सुरुवाती अवस्थामा पिच केही ढिलो भएको र १० ओभरसम्म रन बनाउन कठिन भएको उनले स्वीकारे । दुई विकेट छिट्टै गुमेपछि जिम्मेवारी बढेको बताउँदै उनले देव खनालसँगको साझेदारीबारे भने, "हामीले ५० ओभरको अन्त्यमा कहाँ पुग्छौँ भन्नुभन्दा पनि स-साना ब्लकमा इनिङ्स अगाडि बढाउने सोचेका थियौँ । देवसँग भारतमा सँगै प्रशिक्षण गरेकाले उनीसँग ब्याटिङ गर्न सहज भयो"।
कुशल मल्ल र सन्दीप जोराको आक्रामक ब्याटिङले राहत
इशानका अनुसार खेलको अन्तिमतिर कुशल मल्ल र सन्दीप जोराले आक्रामक ब्याटिङ गरेपछि आफ्नो दबाब कम भएको थियो । "उनीहरूको हिटिङ क्षमता हामी सबैलाई थाहा छ, आज उनीहरूले त्यो प्रमाणित पनि गरे। त्यसले मलाई क्रिजमा टिकेर खेल्न झन् सजिलो बनायो," उनले थपे ।
नयाँ संस्कृति र प्रशिक्षकको सुझाव
प्रशिक्षकसँगको कुराकानीबारे उल्लेख गर्दै उनले अहिले नेपाली टोलीमा 'व्यक्तिगत माइलस्टोन' भन्दा पनि 'टिमको जित'लाई प्राथमिकता दिने संस्कृति विकास भइरहेको बताए। प्रशिक्षकले विश्वकै उत्कृष्ट फिल्डिङ साइड र फिटेस्ट टोली बन्ने लक्ष्य राख्न प्रेरित गरिरहेको उनको भनाइ छ।
राष्ट्रिय टोलीमा पुनरागमनको अपेक्षा
आफ्नो व्यक्तिगत प्रदर्शन र राष्ट्रिय टोलीमा स्थान बनाउने विषयमा बोल्दै उनले भने, "प्रधानमन्त्री कपमा मेरो रन बनेन, त्यसैले म अहिले टिममा छैन र जसले रन बनाए उनीहरू टिममा छन्, जुन स्वभाविक हो। जब टोलीलाई मेरो आवश्यकता पर्छ, म तयार छु ।"
लिग–२ को महत्व
आगामी विश्वकप लिग–२ का घरेलु खेलहरू नेपालका लागि निकै महत्त्वपूर्ण रहेको इशानले बताए । "हामीले घरेलु मैदानमा खेल्ने आठवटा खेलले हामी लिग–२ को तालिकामा कहाँ रहन्छौँ भन्ने तय गर्नेछ," उनले भने। पछिल्लो समय नेपालमा पिचको अवस्था सुधारिएको र स्पिनरहरूले पनि विकेट लिन कडा मिहिनेत गर्नुपर्ने स्थिति आउनु नेपाली क्रिकेटका लागि सकारात्मक संकेत भएको उनले औंल्याए ।
टिप्पणी लेख्नुहोस्