नयाँ खेलाडी र फरक कम्बिनेसनको परीक्षण गरिरहेका छौँ: विनायक शुक्ला (ओमान)
काठमाडौं । विश्वकप लिग–२ को तयारीका लागि नेपाल आएको ओमानको टोलीले नेपाल ‘ए’ विरुद्धको अभ्यास खेललाई नयाँ खेलाडी र फरक रणनीतिको परीक्षण गर्ने अवसरका रूपमा लिएको छ । दोस्रो अभ्यास खेलमा नेपाल ‘ए’ सँग पराजित भएपछि ओमानका खेलाडी विनायक शुक्लाले टोलीले विभिन्न प्रयोग गरिरहेको बताएका हुन् ।
नयाँ ब्याटिङ लाइनअपको प्रयोग
शुक्लाका अनुसार ओमानले यस सिरिजमा आफ्नो नियमित ब्याटिङ अर्डरभन्दा फरक सेट प्रयोग गरिरहेको छ । "हामीले हाम्रो ब्याटिङ लाइनअपमा धेरै कुराहरू परिवर्तन गरेका छौँ, यो हाम्रो नियमित सेट होइन," उनले भने। नयाँ ब्याटरहरूलाई अवसर दिनु र फरक कम्बिनेसन प्रयास गर्नु टोलीका लागि एउटा राम्रो 'रियालिटी चेक' भएको उनको भनाइ छ ।
नेपाली ब्याटरको प्रशंसा
पहिलो इनिङ्समा नेपालले बनाएको २८० प्लस रनको चर्चा गर्दै शुक्लाले नेपाली ब्याटरहरूको खुलेर प्रशंसा गरे । विशेष गरी देव खनाल र बायाँ हाते ब्याटर इशान पाण्डेको साझेदारीले नेपाललाई बलियो स्थितिमा पुर्याएको उनले स्वीकारे। "सुरुवाती १० ओभरमा विकेट केही कठिन देखिए पनि नेपाली ब्याटरहरूले उत्कृष्ट पुनरागमन गरे," उनले थपे ।
लिग–२ को तयारी र लक्ष्य
ओमानको टोली विश्वकप लिग–२ का लागि निकै सकारात्मक र उत्साहित रहेको शुक्लाले बताए । नेपालको कन्डिसनसँग अभ्यस्त हुन टोली केही समय अगाडि नै नेपाल आएको थियो। आगामी चार खेलको लक्ष्यबारे सोधिएको प्रश्नमा उनले भने, "हामी धेरै अगाडिको सोचेका छैनौँ, अहिलेका लागि एक पटकमा एउटा खेललाई मात्र प्राथमिकता दिइरहेका छौँ"।
ओमानले यसअघि नामिबियामा भएको सिरिजमा राम्रो प्रदर्शन गरेको थियो र सोही लयलाई नेपालमा पनि निरन्तरता दिने विश्वास व्यक्त गरेको छ ।
टिप्पणी लेख्नुहोस्