मूलपानीमा नेपाल ‘ए’ को सानदार पुनरागमन: ओमान ११५ रनले पराजित, शृङ्खला बराबरी
काठमाडौँ, वैशाख ११ । घरेलु मैदान मूलपानीमा नेपाल ‘ए’ टोलीले उत्कृष्ट पुनरागमन गर्दै भ्रमणकारी टोली ओमानमाथि ११५ रनको फराकिलो जित दर्ता गरेको छ । शुक्रबार मूलपानीस्थित माथिल्लो क्रिकेट मैदानमा भएको दोस्रो अभ्यास खेलमा ब्याटिङ र बलिङ दुवै विभागमा सन्तुलित प्रदर्शन गर्दै नेपालले जित निकालेको हो ।
यस जितसँगै दुई खेलको शृङ्खला १–१ को बराबरीमा टुङ्गिएको छ । यसअघि भएको पहिलो खेलमा ओमानले नेपाल ‘ए’ लाई ७० रनले हराएको थियो ।
इशान र देवको अर्धशतक, कुशलको आक्रामक पारी
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपाल ‘ए’ ले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २८४ रनको बलियो योगफल तयार पार्यो । नेपालको इनिङ्समा ‘प्लेयर अफ द म्याच’ इशान पाण्डेले सर्वाधिक ६९ रनको योगदान दिए । उनले ७८ बलमा ६ चौका प्रहार गरे ।
त्यस्तै, देव खनालले संयमित ब्याटिङ गर्दै ९५ बलमा ६४ रन जोडे भने कुशल मल्लले विस्फोटक पारी खेल्दै मात्र ३२ बलमा ५७ रन बनाए । ओमानका लागि जितेनकुमार रमानन्दीले २ विकेट लिए ।
युवराज खत्रीको घातक बलिङ
२८५ रनको विशाल लक्ष्य पछ्याएको ओमानको टोली नेपाली बलरहरूको धारिलो बलिङसामु टिक्न सकेन र ३६.३ ओभरमा १६९ रनमै अलआउट भयो । ओमानका लागि मुजिबुर अलीले सर्वाधिक ४३ रन बनाए पनि अन्य ब्याटरले ठुलो स्कोर खडा गर्न सकेनन् ।
ओमानलाई सस्तैमा समेट्न नेपालका युवराज खत्रीले घातक बलिङ गर्दै ३ विकेट लिए । उनले ६ ओभरमा १ मेडन राख्दै मात्र २४ रन खर्चिए । त्यस्तै हेमन्त धामी, आकाश चन्द र शेर मल्लले समान २–२ विकेट तथा सन्तोष यादवले १ विकेट लिए ।
ओमानको अबको तालिका
विश्वकप लिग–२ को पूर्वसन्ध्यामा खेलिएको यो अभ्यास खेलले ओमानलाई आफ्नो तयारीको समीक्षा गर्ने मौका दिएको छ । ओमानले अब लिग–२ अन्तर्गत सोमबार यूएई र बुधबार नेपालको सिनियर टोलीसँग प्रतिस्पर्धा गर्नेछ ।
टिप्पणी लेख्नुहोस्