लेख विवरण

आइसिसी महिला टि–ट्वान्टी च्यालेन्ज ट्रफी: नेपाल भानुआतुसँग स्तब्ध

आइसिसी महिला टि–ट्वान्टी च्यालेन्ज ट्रफी: नेपाल भानुआतुसँग स्तब्ध

काठमाडौँ, वैशाख ११। रुवाण्डाको किगालीमा जारी आइसिसी महिला टि–ट्वान्टी च्यालेन्ज ट्रफीमा नेपाल भानुआतुसँग २२ रनले पराजित भएको छ । आज गहङ्गा क्रिकेट ओभलमा भएको खेलमा जितका लागि ९८ रनको मध्यम लक्ष्य पछ्याएको नेपाल भानुआतुको बलिङका अगाडि धेरै समय टिक्न सकेन ।

नेपालले १५.३ ओभरमा मात्र ७५ रन जोडेर आफ्ना सबै विकेट गुमाएको थियो । नेपालका लागि सम्झना खड्काले सर्वाधिक २४ रन जोडिन् । उनले १९ बलमा ४ चौका प्रहार गरिन् । कप्तान इन्दु वर्माले १३ रन र कविता कुँवरले १० रन जोड्नुबाहेक अन्य कुनै पनि खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । भानुआतुका लागि भानेसा भिरा र नासिमाना नवाइकाले तीन–तीन विकेट लिइन् ।

यसअघि, टस जितेर पहिले ब्याटिङ रोजेको भानुआतुले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै ९७ रन बनाएको थियो । भानुआतुका लागि भालेन्टा लाङ्गियातुले सर्वाधिक ४२ रनको योगदान दिइन् । उनले ५० बलमा दुई चौका र दुई छक्का प्रहार गरिन् । यस्तै, नासिमाना नवाइकाले १८ रन तथा सेलिना सोलमन र सुसन स्टीफनले १०–१० रन जोडे ।

बलिङतर्फ नेपालका लागि रिया शर्माले २ विकेट लिइन् । मनिषा उपाध्याय, कविता कुँवर र रचनाकुमारी चौधरीले एक–एक विकेट लिए । अब नेपालले वैशाख १३ गते अमेरिकासँग खेल्नेछ ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.