पिएसएल २०२६: इस्लामावाद युनाइटेडको सानदार जित, हैदराबाद किंग्सम्यान पराजित
कराँची: पाकिस्तान सुपर लिग (पिएसएल) २०२६ को ३६औँ खेलमा इस्लामावाद युनाइटेडले हैदराबाद किंग्सम्यानमाथि ८ विकेटको फराकिलो जित दर्ता गरेको छ । कराँचीस्थित नेसनल स्टेडियममा शुक्रबार भएको खेलमा इस्लामावादले मात्र ६.४ ओभरमा लक्ष्य भेट्टाउँदै सानदार जित हात पारेको हो।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको हैदराबाद किंग्सम्यानको प्रदर्शन निकै खराब रह्यो। इस्लामावादका बलरहरू हाबी भएपछि हैदराबाद १५.५ ओभरमा मात्र ८० रनमा समेटियो। यो पिएसएल इतिहासकै पाँचौँ न्यून स्कोर हो।
हैदराबादका लागि उस्मान खानले सर्वाधिक २५ रन बनाए भने कुशल परेरा र साइम अयुबले समान १२–१२ रन जोडे। अन्य ब्याटरहरू सस्तैमा आउट भए। हैदराबादलाई सस्तोमा समेट्न इस्लामावादका रिचर्ड ग्लिसन, शादाब खान र इमाद वासिमले समान ३–३ विकेट लिए। ग्लिसनले ३ ओभरमा मात्र ९ रन खर्चेर घातक बलिङ गरेपछि उनी 'प्लेयर अफ द म्याच' घोषित भए।
८१ रनको सामान्य लक्ष्य पछ्याएको इस्लामावाद युनाइटेडले विष्फोटक सुरुवात गर्यो। ओपनर डेभन कोनवे डक आउट भए पनि मोहसिन रियाज र समीर मिन्हासले आक्रामक ब्याटिङ गर्दै टोलीलाई सहज जित दिलाए। मोहसिनले मात्र १८ बलमा ६ चौका र २ छक्काको मद्दतले ४२ रन जोडे। त्यस्तै, समीर मिन्हास २७ रनमा अविजित रहे।
यो जितसँगै इस्लामावाद युनाइटेडले प्लेअफमा आफ्नो स्थान सुरक्षित गरेको छ। अर्कोतर्फ, पराजित हैदराबाद किंग्सम्यानका लागि प्लेअफ पुग्न अब अन्तिम खेल जित्नैपर्ने दबाब बढेको छ। हैदराबादको लगातार चार खेलको जितको यात्रामा पनि इस्लामावादले पूर्णविराम लगाइदिएको छ।
संक्षिप्त स्कोरकार्ड:
-
हैदराबाद किंग्सम्यान: ८०/१० (१५.५ ओभर) - उस्मान खान २५, ग्लिसन ३/९, शादाब ३/१३
-
इस्लामावाद युनाइटेड: ८३/२ (६.४ ओभर) - मोहसिन रियाज ४२, समीर मिन्हास २७*, मोहम्मद अली २/२९
-
नतिजा: इस्लामावाद युनाइटेड ८ विकेटले विजयी।
टिप्पणी लेख्नुहोस्