लेख विवरण

न्यूजील्याण्डकी भेट्रान क्रिकेटर सुजी बोट्सद्वारा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा

न्यूजील्याण्डकी भेट्रान क्रिकेटर सुजी बोट्सद्वारा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा

काठमाडौँ: न्यूजील्याण्डकी दिग्गज अलराउन्डर सुजी बोट्सले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरेकी छिन्। आगामी जुन १२ बाट इङ्गल्याण्ड र वेल्समा सुरु हुने महिला टी–२० विश्वकप उनको करियरको अन्तिम प्रतियोगिता हुनेछ।

३८ वर्षीया बोट्सले हालसम्म न्युजील्याण्डका लागि ३६२ अन्तर्राष्ट्रिय खेल खेलिसकेकी छिन्। आफ्नो सन्यासको निर्णयबारे बोल्दै उनले २० वर्षभन्दा लामो करियर कसरी बित्यो भन्ने थाहै नभएको र न्यूजील्याण्डको जर्सी पहिरिन पाएकोमा आफूलाई निकै गर्व लागेको बताइन्। उनले आफ्नो अन्तिम लक्ष्य बेलायतमा हुने विश्वकप जितेर सुखद बिदाइ लिने रहेको उल्लेख गरेकी छिन्।

यस्तो छ सुजी बोट्सको लोभलाग्दो करियर:

सन् २००६ मा भारत विरुद्धको खेलबाट डेब्यु गरेकी बोट्सले क्रिकेटका सबै फर्म्याटमा गरी कुल १४ शतक प्रहार गरेकी छिन् भने १४५ विकेट लिएकी छिन्। उनले सन् २०११ देखि २०१८ सम्म न्यूजील्याण्डको कप्तानी समेत सम्हालेकी थिइन्।

सन् २०१३ मा 'आइसिसी महिला ओडिआई क्रिकेटर अफ द इयर' बनेकी उनले सोही वर्ष भारतमा भएको विश्वकपमा सर्वाधिक रन बनाउने खेलाडी बनेकी थिइन्। यस्तै, सन् २०१६ मा उनले एकैसाथ आइसिसीको ओडिआई र टी–२० दुवै विधामा 'प्लेयर अफ द इयर' को अवार्ड जितेर इतिहास रचेकी थिइन्। उनको करियरको सबैभन्दा यादगार क्षण सन् २०२४ को टी–२० विश्वकप उपाधि जित्नु रहेको थियो, जहाँ उनी आफ्नो टोलीका लागि सर्वाधिक रन बनाउने खेलाडी थिइन्।

नियमित कप्तान सोफी डिभाइन टोली बाहिर रहँदा उनले धेरै पटक टोलीको नेतृत्व समेत कुशलतापूर्वक सम्हालेकी थिइन्। विश्व क्रिकेटकै एक प्रभावशाली खेलाडीका रूपमा चिनिने बोट्सको सन्याससँगै महिला क्रिकेटको एउटा सुनौलो अध्यायको अन्त्य हुनेछ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.