लेख विवरण

आइपिएल २०२६: मुम्बईमाथि चेन्नईको ऐतिहासिक जित, सञ्जु सामसनको विष्फोटक शतकमा मुम्बई १०३ रनले पराजित

आइपिएल २०२६: मुम्बईमाथि चेन्नईको ऐतिहासिक जित, सञ्जु सामसनको विष्फोटक शतकमा मुम्बई १०३ रनले पराजित

मुम्बई, ११ बैशाख (स्पोर्ट्समाला) इन्डियन प्रिमियर लिग (IPL) २०२६ अन्तर्गत बिहीबार राति भएको खेलमा चेन्नई सुपर किंग्स (CSK) ले मुम्बई इन्डियन्स (MI) विरुद्ध सानदार जित दर्ता गरेको छ। मुम्बईको घरेलु मैदान वानखेडे स्टेडियममा भएको प्रतिस्पर्धामा चेन्नईले आयोजक टोलीलाई १०३ रनको विशाल अन्तरले हराएको हो।

सञ्जु सामसनको विष्फोटक ब्याटिङ

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको चेन्नईले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २०७ रनको चुनौतीपूर्ण योगफल तयार पारेको थियो। चेन्नईको जितको मुख्य आधार कप्तान सञ्जु सामसनको विष्फोटक ब्याटिङ रह्यो। उनले शतकीय पारी खेल्दै मुम्बईका बलरहरूलाई दबाबमा राखेका थिए। यो सामसनको आईपीएल करियरको पाँचौं शतक समेत हो।

मुम्बईको लज्जास्पद प्रदर्शन

२०८ रनको लक्ष्य पछ्याएको मुम्बई इन्डियन्सको ब्याटिङ निकै फितलो रह्यो। अकिल हुसेनको कसिलो बलिङ र चेन्नईका फिल्डरहरूको चुस्तताका अगाडि मुम्बईका ब्याटरहरू टिक्न सकेनन्। मुम्बईको टोली १९ ओभरमा मात्र १०४ रनमा अलआउट भयो। मुम्बईका लागि कुनै पनि ब्याटरले ठूलो साझेदारी गर्न सकेनन्।

चेन्नईको रेकर्ड जित

यो जितसँगै चेन्नई सुपर किंग्स आईपीएल इतिहासमा मुम्बईविरुद्ध सबैभन्दा बढी जित निकाल्ने टोली बनेको छ। दुई टोलीबीच भएका ४० खेलमध्ये चेन्नईको यो १९औं जित हो। साथै, मुम्बई इन्डियन्सका लागि रनको आधारमा यो आईपीएल इतिहासकै सबैभन्दा ठूलो हार हो। यसअघि सन् २०१३ मा राजस्थान रोयल्ससँग मुम्बई ८७ रनले हारेको थियो।

अंक तालिकामा फेरबदल

यो भारी जितसँगै चेन्नईले अंक तालिकामा आफ्नो स्थिति बलियो बनाएको छ भने मुम्बई इन्डियन्सको प्लेअफ यात्रा थप कठिन बनेको छ। मुम्बईको वानखेडे मैदानमा भएको यो अहिलेसम्मकै सबैभन्दा ठूलो हारले घरेलु समर्थकहरूलाई निराश बनाएको छ।


sportsmala.com | खेलकुदको ताजा अपडेटका लागि हामीलाई पछ्याउँदै गर्नुहोला।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.