लेख विवरण

आइपिएल २०२६: कोलकाता नाइट राइडर्सद्वारा सनराइजर्स हैदरावाद ७ विकेटले पराजित

आइपिएल २०२६: कोलकाता नाइट राइडर्सद्वारा सनराइजर्स हैदरावाद ७ विकेटले पराजित

हैदराबाद (एजेन्सी) – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२६ को ४५औँ खेलमा कोलकाता नाइट राइडर्सले सनराइजर्स हैदरावादमाथि ७ विकेटको सानदार जित हात पारेको छ। हैदरावादको घरेलु मैदान राजिव गान्धी अन्तर्राष्ट्रिय रंगशालामा आइतबार भएको खेलमा कोलकाताले १६६ रनको लक्ष्य १८.२ ओभरमा मात्र ३ विकेट गुमाएर पूरा गर्‍यो।

कोलकाताको जितमा युवा ब्याटर अंगकृष रघुवंशीले अर्धशतकीय पारी खेले। उनले ४७ बलमा ५ चौका र २ छक्काको मद्दतले ५९ रन बनाए। कप्तान अजिंक्य रहाणेले ४३ रन जोडे भने प्रारम्भिक ब्याटर फिन एलनले विष्फोटक सुरुवात गर्दै १३ बलमा २९ रन बनाए। अन्त्यमा रिंकु सिंहले ११ बलमा २२ रन र क्यामरुन ग्रीनले ३ रन बनाउँदै टोलीलाई जितसम्म पुर्‍याए।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सनराइजर्स हैदरावादले १९ ओभरमा सबै विकेट गुमाएर १६५ रन मात्र बनाउन सक्यो। हैदरावादका लागि ट्राभिस हेडले आक्रामक ब्याटिङ गर्दै २८ बलमा ६१ रन (९ चौका र ३ छक्का) बनाएका थिए। इशान किशनले २९ बलमा ४२ रन जोडे पनि अन्य ब्याटर चल्न सकेनन्। एक समय ९ ओभरमा १०५-१ को बलियो अवस्थामा रहेको हैदरावादले पछिल्लो ९ विकेट मात्र ६० रन जोड्दा गुमाएको थियो।

हैदरावादलाई मध्यम स्कोरमा रोक्न कोलकाताका स्पिनर वरुण चक्रवर्तीले घातक बलिङ गरे। उनले ४ ओभरमा ३६ रन दिएर ३ महत्वपूर्ण विकेट लिए र 'प्लेयर अफ द म्याच' चुनिए। यस्तै, सुनिल नरेनले ३१ रन दिएर २ विकेट लिए भने कार्तिक त्यागीले पनि २ विकेट चट्काए। नरेनले यसै खेलमार्फत आइपिएल इतिहासमा आफ्नो २०० विकेट पनि पूरा गरेका छन्।

यो जितसँगै कोलकाताले प्रतियोगितामा लगातार तेस्रो जित दर्ता गरेको छ र तालिकाको आठौँ स्थानमा यथावत छ। अर्कोतर्फ, हारका बाबजुद हैदरावाद १० खेलमा ६ जितका साथ तेस्रो स्थानमा कायम छ।

संक्षिप्त स्कोर:

  • सनराइजर्स हैदरावाद: १६५/१० (१९ ओभर) – ट्राभिस हेड ६१, इशान किशन ४२; वरुण चक्रवर्ती ३/३६।

  • कोलकाता नाइट राइडर्स: १६९/३ (१८.२ ओभर) – अंगकृष रघुवंशी ५९, अजिंक्य रहाणे ४३; साकिब हुसेन १/१७।

  • नतिजा: कोलकाता ७ विकेटले विजयी।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.