सन् २०२७-३१ भित्र इंग्ल्याण्डले नेपाल भ्रमण गर्न सक्ने
काठमाडौं । विश्व क्रिकेटको महारथी टोली इंग्ल्याण्डले सन् २०२७ देखि २०३१ को अन्तर्राष्ट्रिय क्रिकेट तालिका अन्तर्गत नेपालको भ्रमण गर्ने सम्भावना बलियो बनेको छ । इंग्ल्याण्ड र वेल्स क्रिकेट बोर्डले नेपालसँग छोटो फर्म्याटको (ह्वाइट बल) सिरिज खेल्नका लागि छलफल अगाडि बढाएको छ ।
भारतीय अनलाइन समाचार अमर उजालाका अनुसार, भारतमा सम्पन्न टी-२० विश्वकपका दौरान दुवै देशका क्रिकेट बोर्डबीच यस विषयमा प्रारम्भिक छलफल भएको थियो । इंग्ल्याण्डले भारत भ्रमण गर्नुअघि तयारीका रूपमा नेपालमा आएर तीन खेलको टी-२० सिरिज खेल्ने योजना बनाइरहेको बुझिएको छ ।
पहिलो पटक टेस्ट राष्ट्रको भ्रमण
यदि यो भ्रमण सफल भएमा, इंग्ल्याण्ड नेपालको भ्रमण गर्ने पहिलो उच्च स्तरीय अन्तर्राष्ट्रिय टोली बन्नेछ । यसअघि भर्खरै सम्पन्न टी-२० विश्वकपमा नेपाल र इंग्ल्याण्डबीच पहिलो पटक प्रतिस्पर्धा भएको थियो । मुम्बईको वानखेडे स्टेडियममा भएको उक्त रोमान्चक खेलमा नेपालले इंग्ल्याण्डलाई कडा चुनौती दिएको थियो, जहाँ इंग्ल्याण्डले मात्र ४ रनको कठिन जित निकालेको थियो ।
रोहित पौडेलको उत्साह
नेपाली राष्ट्रिय टोलीका कप्तान रोहित पौडेलले इंग्ल्याण्ड जस्तो शक्तिशाली टोली नेपाल आउनु यहाँका खेलाडी र क्रिकेट विकासका लागि ऐतिहासिक हुने बताएका छन् । उनले भनेका छन्, "अस्ट्रेलिया वा इंग्ल्याण्ड जस्ता टोलीले नेपालको भ्रमण गर्नु हाम्रो लागि ठूलो कुरा हो । यसले विश्व क्रिकेटलाई नेपालले पनि राम्रो क्रिकेट खेल्छ भन्ने सन्देश दिनेछ र यो हाम्रा लागि निकै महत्त्वपूर्ण हुनेछ ।"
आगामी २०२७-३१ को साइकलमा अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले नेपाल जस्ता उदाउँदा राष्ट्रहरूलाई टेस्ट राष्ट्रहरूसँग बढी एक्सपोजर दिने रणनीति लिएको छ । इंग्ल्याण्डको यो सम्भावित भ्रमणले नेपाली क्रिकेटको स्तरोन्नतिमा कोशेढुंगा साबित हुने अपेक्षा गरिएको छ ।
टिप्पणी लेख्नुहोस्