लेख विवरण

पञ्जाबविरुद्ध रोमाञ्चक जित निकाले पनि दिल्लीका कप्तान अक्षर पटेललाई १२ लाख जरिवाना

पञ्जाबविरुद्ध रोमाञ्चक जित निकाले पनि दिल्लीका कप्तान अक्षर पटेललाई १२ लाख जरिवाना

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आइपिएल) २०२६ मा पञ्जाब किंग्सविरुद्ध रोमाञ्चक जित हात पारेको दिल्ली क्यापिटल्सका कप्तान अक्षर पटेललाई ठुलो जरिवाना लागेको छ। सोमबार धर्मशालामा भएको खेलमा 'स्लो ओभर रेट' (निर्धारित समयमा ओभर नसकेको) का कारण पटेललाई १२ लाख भारतीय रुपैयाँ जरिवाना गरिएको हो।

भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बिसिसीआई) का अनुसार आईपीएलको आचारसंहिता अन्तर्गत न्यूनतम ओभर गति कायम राख्न नसकेको यो सिजनकै पहिलो गल्ती भएकाले पटेलमाथि उक्त कारबाही गरिएको हो।

रोमाञ्चक जित र प्लेअफको आशा

पञ्जाबले दिएको २११ रनको विशाल लक्ष्य दिल्लीले १९ ओभरमा ७ विकेट गुमाउँदै पूरा गरेको थियो। दिल्लीको जितमा कप्तान अक्षर पटेलले आफैँ अघि सरेर उत्कृष्ट प्रदर्शन गरे। उनले मात्र ३० बलमा ५६ रनको अर्धशतकीय पारी खेलेका थिए। त्यस्तै, डेभिड मिलरले ५१ रन र आशुतोष शर्माले १० बलमा २४ रनको योगदान दिएपछि दिल्लीको प्लेअफ पुग्ने सम्भावना अझै जीवितै रहेको छ।

पञ्जाबको सङ्घर्ष जारी

पहिले ब्याटिङ गरेको पञ्जाब किंग्सले प्रियांश आर्य (५६ रन) र कप्तान श्रेयस अय्यरको अविजित ५९ रनको मद्दतले २१० रन बनाएको थियो। लक्ष्य रक्षा गर्न नसके पनि पञ्जाब तालिकाको चौथो स्थानमा कायमै छ।

जितको खुसी मनाइरहँदा कप्तान अक्षर पटेलका लागि भने यो जरिवानाले केही खल्लो महसुस गराएको छ। आईपीएलका आगामी खेलहरूमा समय व्यवस्थापनमा थप कडाइ नगरे कप्तानले निलम्बनसम्मको सामना गर्नुपर्ने हुनसक्छ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.