युरोपियन टी-२० लिगमा राहुल द्रविडले किने टोली, आश्विन बने कप्तान
काठमाडौँ । भारतीय क्रिकेटका लिजेन्ड राहुल द्रविड र भेट्रान स्पिनर रविचन्द्रन आश्विन युरोपको नयाँ टी-२० क्रिकेट लिगमा एकसाथ देखिने भएका छन्। युरोपियन टी-२० प्रिमियर लिग (इटीपिएल) अन्तर्गत डब्लिन फ्रान्सेली 'डब्लिन गार्डियन्स'लाई द्रविडले खरिद गरेका हुन् भने सो टोलीको कप्तानी आश्विनले गर्ने तय भएको छ।
द्रविडले टोलीको मालिकका रूपमा क्रिकेटको विकासमा योगदान पुर्याउने उद्देश्यले यसमा लागेको बताएका छन्। उनले भनेका छन्, "मेरो लक्ष्य केवल टोली किन्नु मात्र होइन, बरु युरोपमा क्रिकेटको जग बलियो बनाउनु र नयाँ खेलाडीहरूका लागि अवसर सिर्जना गर्नु हो।"
आश्विनको कप्तानीमा चर्चित स्टारहरू
डब्लिन गार्डियन्सको नेतृत्व सम्हाल्ने जिम्मेवारी पाएका रविचन्द्रन आश्विनसँगै टोलीमा विश्व क्रिकेटका ठूला नामहरू जोडिने अपेक्षा गरिएको छ। यो लिगमा मिचेल मार्श, टिम डेभिड, ग्लेन म्याक्सवेल, फाफ डु प्लेसिस र हेनरिक क्लासेन जस्ता स्टार खेलाडीहरू सहभागी हुनेछन्।
अन्य दिग्गजहरूको पनि साथ
यस लिगमा द्रविड मात्र होइन, अन्य पूर्व क्रिकेटरहरू पनि आबद्ध छन्। एम्स्टर्डम टोलीसँग स्टिभ वा, बेलफास्ट टोलीसँग ग्लेन म्याक्सवेल र ग्लासगो टोलीसँग क्रिस गेल जस्ता हस्तीहरू जोडिएका छन्।
कहिले हुन्छ लिग?
युरोपियन टी-२० प्रिमियर लिगको पहिलो सिजन आगामी अगस्ट २६ देखि सेप्टेम्बर २० सम्म सञ्चालन हुनेछ। यस लिगमा डब्लिन, बेलफास्ट, एडिनबर्ग, ग्लासगो, रोटरड्याम र एम्स्टर्डम गरी ६ वटा सहरका टोलीहरूले प्रतिस्पर्धा गर्नेछन्।
टिप्पणी लेख्नुहोस्