लेख विवरण

लियोनेल मेसी बने अमेरिकाकै सबैभन्दा धेरै कमाउने खेलाडी, तलबमा भारी वृद्धि

लियोनेल मेसी बने अमेरिकाकै सबैभन्दा धेरै कमाउने खेलाडी, तलबमा भारी वृद्धि

एजेन्सी | जेठ ३१, २०८३

फुटबलका जादुगर लियोनेल मेसीले अमेरिकी व्यावसायिक फुटबल लिग ‘मेजर लिग सकर’ (MLS) मा नयाँ कीर्तिमान कायम गरेका छन्। इन्टर मियामीका लागि खेल्दै आएका अर्जेन्टिनी कप्तान मेसीको तलबमा भारी वृद्धि भएपछि उनी लिगको इतिहासकै सबैभन्दा महँगो खेलाडी बनेका छन्।

कति छ त मेसीको नयाँ तलब?

मेजर लिग सकर प्लेयर्स एसोसिएशन (MLSPA) ले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार, मेसीको वार्षिक ग्यारेन्टीड आम्दानी २ करोड ८३ लाख ३० हजार अमेरिकी डलर (करिब ३ अर्ब ७८ करोड नेपाली रुपैयाँ) पुगेको छ। यसमा उनको आधारभूत तलब मात्रै २ करोड ५० लाख डलर रहेको छ।

यो रकम लिगका अन्य कुनै पनि खेलाडीको तुलनामा दोब्बर भन्दा बढी हो। मेसीपछि सर्वाधिक कमाउने खेलाडीमा लस एन्जलस एफसीका सन ह्युङ मिन रहेका छन्, जसको कुल आम्दानी १ करोड ११ लाख ५० हजार डलर रहेको छ।

इन्टर मियामीको लगानी

मेसीको आगमनपछि इन्टर मियामीले खेलाडीहरूको तलबमा गर्ने खर्चमा पनि ठूलो वृद्धि भएको छ। क्लबको कुल पेरोल ५ करोड ४६ लाख डलर पुगेको छ, जुन लिगका अन्य क्लबहरूको तुलनामा निकै धेरै हो। लिगमा सबैभन्दा कम खर्च गर्ने फिलाडेल्फिया युनियनको पेरोल मात्र १ करोड १७ लाख डलर रहेको छ।

मैदानमा पनि उत्कृष्ट प्रदर्शन

मेसीले केवल कमाइमा मात्र नभई मैदानमा पनि आफ्नो जादु देखाइरहेका छन्। उनले इन्टर मियामीका लागि हालसम्म ६४ खेलमा ५९ गोल गरिसकेका छन्। यस सिजनमा मात्रै ११ खेलमा ९ गोल गर्दै उनले टोलीलाई जिताउन महत्त्वपूर्ण भूमिका खेलिरहेका छन्। गत सिजन २९ गोल गरेका मेसी लगातार दोस्रो पटक ‘मस्ट भ्यालुएबल प्लेयर’ (MVP) घोषित भएका थिए।

३९ को उमेरमा पनि छैटौँ विश्वकपको तयारी

आउँदो महिना ३९ वर्ष पुग्न लागेका मेसी अझै पनि पूर्ण रूपमा फिट देखिन्छन्। सन् २०२२ मा अर्जेन्टिनालाई विश्वकप जिताएका उनी अहिले सन् २०२६ को विश्वकप खेल्ने तयारीमा छन्। मेसीसँगै एमएलएसमा सन ह्युङ मिन, रोड्रिगो डी पल, मिगुएल अल्मिरोन र थोमस मुलर जस्ता चर्चित नामहरू पनि आबद्ध छन्, तर मेसीको लोकप्रियता र कमाइको अगाडि सबै ओझेलमा परेका छन्।


टिप्पणी लेख्नुहोस्

Please Login to comment.