आफ्नो ब्याटबाट आलोचकहरूलाई यसरी जवाफ दिए कुशल भुर्तेलले
काठमाडौं । खराब फर्मका कारण लामो समयदेखि आलोचना खेपिरहेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर कुशल भुर्तेलले आइसिसी पुरुष विश्वकप लिग-२ मा उत्कृष्ट पुनरागमन गर्दै आफ्ना आलोचकहरूलाई ब्याटबाटै कडा जवाफ दिएका छन्। शनिबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (टियु) अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा कुशलको सानदार र अविजित शतकको मद्दतले नेपालले अमेरिकामाथि ९ विकेटको फराकिलो र ऐतिहासिक जित दर्ता गरेको छ।
जितका लागि अमेरिकाले दिएको १ सय ९६ रनको सामान्य लक्ष्यलाई नेपालले मात्र ३६.४ ओभरमा १ विकेट गुमाएर सहजै पूरा गर्यो। नेपालको यो सानदार जितमा कुशल भुर्तेलको कीर्तिमानी शतक, आशिफ शेखको परिपक्व अर्धशतकीय साझेदारी र दीपेन्द्र सिंह ऐरीको घातक बलिङ मुख्य कडी बन्यो।
ओपनरद्वयको कीर्तिमानी साझेदारी र आशिफको कीर्तिमान
१ सय ९६ रनको लक्ष्य पछ्याउने क्रममा नेपालका ओपनरद्वय कुशल भुर्तेल र आशिफ शेखले टोलीलाई विष्फोटक एवं उत्कृष्ट सुरुवात दिलाए। अमेरिकन बलरहरूलाई पूर्ण रूपमा निरिह बनाउँदै यो जोडीले पहिलो विकेटका लागि १ सय ४५ रनको बलियो साझेदारी गर्यो।
खेलको २६.३ ओभरमा अमेरिकाका मोहम्मद मोहसिनले यो ठूलो साझेदारी तोड्न सफल भए। आशिफ शेख ७२ बलमा ८ चौका प्रहार गर्दै ५८ रन बनाएर आउट भए। यसै क्रममा आशिफले एकदिवसीय (ODI) क्रिकेटमा आफ्नो १५ औं अर्धशतक समेत पूरा गरे। यो सँगै आशिफ एकदिवसीय क्रिकेटमा नेपालका लागि सर्वाधिक अर्धशतक प्रहार गर्ने खेलाडी बनेका छन्। आशिफ आउट भएपछि क्रिजमा आएका इशान पाण्डेले अविजित २० रन बनाउँदै कुशललाई बलियो साथ दिए।
कुशलको जीवनकै सर्वोत्कृष्ट पारी
क्रिजमा सुरुदेखि नै जमेर खेलेका कुशल भुर्तेलले आज आफ्नो एकदिवसीय क्रिकेट करियरकै सर्वाधिक व्यक्तिगत रनको कीर्तिमान समेत बनाए। उनी १ सय १८ बलमा १३ चौका र ४ छक्का प्रहार गर्दै १ सय २० रनमा अविजित रहे। यसअघि एकदिवसीय खेलमा उनको व्यक्तिगत उच्च स्कोर नामिबियाविरुद्ध १ सय १५ रन रहेको थियो। कुशलले आज मात्र १ सय ४ बलमा १२ चौका र ३ छक्काको मद्दतले आफ्नो सानदार शतक पूरा गरेका थिए, जसले मैदानमा उपस्थित हजारौं नेपाली समर्थकहरूलाई उत्साहित तुल्यायो।
दीपेन्द्रको स्पिन जादुमा ढल्यो अमेरिका
त्यसअघि टियु क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ रोजेको अमेरिकाले ४३.३ ओभरमा आफ्ना सबै विकेट गुमाउँदै १ सय ९५ रन मात्र बनाउन सक्यो।
अमेरिकाको सुरुवात खराब रह्यो। सातौं ओभरको पहिलो बलमा २२ रनको स्थितिमा सोमपाल कामीले ओपनर सायान जहाँङ्गीर (६ रन) लाई बोल्ड आउट गर्दै नेपाललाई पहिलो सफलता दिलाए। तर, त्यसपछि स्मित पटेल र सेहान जयसुर्याले दोस्रो विकेटका लागि शतकीय साझेदारी गर्दै अमेरिकालाई बलियो स्थितिमा पुर्याउने प्रयास गरे।
यो खतरनाक बन्दै गएको साझेदारीलाई नेपालका 'मस्ट भ्यालुअबल प्लेयर' दीपेन्द्र सिंह ऐरीले तोडे। सेहान जयसुर्या ५२ बलमा ५ चौका र १ छक्कासहित ५० रन बनाएर दीपेन्द्रको बलमा गुल्सन झाद्वारा क्याच आउट भए। लगत्तै कप्तान साइतेजा मुकामुल्लालाई सन्दीप लामिछानेले मात्र ४ रनमा बोल्ड गरेपछि अमेरिका दबाबमा आयो। तेस्रो विकेट गुम्दा अमेरिकाको स्कोर १ सय ४० रन थियो।
पाँचौं ओभरमा १४ रनको व्यक्तिगत स्कोरमा सोमपाल कामीको बलमा आशिफ शेखबाट जीवनदान पाएका ओपनर स्मित पटेलले टिकेर ब्याटिङ गरे। उनले ८९ बलमा ८ चौका र ३ छक्का प्रहार गर्दै टिमका लागि सर्वाधिक ८३ रन बनाए। तर, उनलाई पनि सोमपाल कामीले नै पेभिलियनको बाटो देखाए।
त्यसपछि नेपाली बलरहरूले सानदार कमब्याक गर्दै निरन्तर अन्तरालमा विकेट लिए। शुभम रान्जने २ रनमा रन आउट भए। १ सय ७० रनको स्थितिमा ५ विकेट गुमाएको अमेरिका दीपेन्द्र सिंह ऐरीको घातक बलिङका सामु टिक्न सकेन र १९५ रनमै समेटियो। नेपालका लागि दीपेन्द्र सिंह ऐरीले ७.३ ओभरमा मात्र २४ रन खर्चेर सर्वाधिक ४ विकेट लिए। यस्तै सोमपाल कामीले २, सन्दीप लामिछाने र गुल्सन झाले १-१ विकेट चट्काए।
अंक तालिकामा फेरबदल
जारी लिग-२ को २६ औं खेलमा अमेरिकाको यो आठौं हार हो। हारका बाबजुद अमेरिका ३६ अंकसहित तालिकाको दोस्रो स्थानमा कायमै छ। यता नेपालको भने यो लिगमा नवौं जित हो। यस जितले नेपाली टोलीको मनोबल उच्च बनाएको छ भने कुशल भुर्तेलको फर्म फिर्ता हुनुले आगामी खेलहरूका लागि ठूलो राहत मिलेको छ।
टिप्पणी लेख्नुहोस्