लेख विवरण

आईपीएल २०२६: राजस्थानलाई ५ विकेटले हराउँदै दिल्ली क्यापिटल्स प्लेअफको होडमा कायमै

आईपीएल २०२६: राजस्थानलाई ५ विकेटले हराउँदै दिल्ली क्यापिटल्स प्लेअफको होडमा कायमै

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को ६२ औं खेलमा दिल्ली क्यापिटल्सले राजस्थान रोयल्सलाई ५ विकेटले पराजित गरेको छ । आइतबार राति दिल्लीको अरुण जेट्ली स्टेडियममा भएको खेलमा उत्कृष्ट प्रदर्शन गर्दै दिल्लीले प्लेअफमा पुग्ने आफ्नो सम्भावनालाई जीवितै राखेको हो ।

टस हारेर पहिले ब्याटिंगको निम्तो पाएको राजस्थान रोयल्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ९३ रनको बलियो योगफल तयार पारेको थियो । १ सय ९४ रनको लक्ष्य पछ्याएको दिल्लीले ५ विकेट गुमाएर १९.२ ओभरमा लक्ष्य पूरा गर्‍यो ।

राहुल र पोरेलको उत्कृष्ट अर्धशतक

दिल्लीको जितमा प्रारम्भिक ब्याटरद्वय केएल राहुल र अभिसेक पोरेलले उत्कृष्ट प्रदर्शन गरे । दुवै ब्याटरले पहिलो विकेटका लागि १ सय ५ रनको शतकीय साझेदारी गर्दै टोलीलाई सानदार सुरुवात दिलाएका थिए ।

राहुलले ४२ बलमा १ चौका र ३ छक्का प्रहार गर्दै सर्वाधिक ५६ रन बनाए । यस्तै, विष्फोटक ब्याटिङ गरेका पोरेलले ३१ बलमा ७ चौका र १ छक्काको मद्दतले ५१ रनको अर्धशतकीय इनिङ्स खेले । कप्तान अक्षर पटेलले १८ बलमा ३४ रन जोड्दै टोलीलाई जितको नजिक पुर्‍याए भने अन्त्यमा आशुतोष शर्माले मात्र ५ बलमा अविजित १८ रन बनाएर टोलीलाई जित दिलाए । राजस्थानका जोफ्रा आर्चर र ब्रिजेश शर्माले २–२ विकेट लिए ।

मिचेल स्टार्कको घातक बलिङ, जुरेल र परागको अर्धशतक खेर

यसअघि पहिले ब्याटिङ गरेको राजस्थानका लागि मध्यक्रमका ब्याटर ध्रुव जुरेल र कप्तान रियान परागले अर्धशतक प्रहार गरे पनि टोलीलाई जिताउन सकेनन् । जुरेलले ४० बलमा ५ चौका र २ छक्कासहित ५३ रन बनाए । यस्तै, परागले २६ बलमा ३ चौका र ५ छक्काको मद्दतले ५१ रनको आक्रामक इनिङ्स खेले । युवा ओपनर वैभव सूर्यवंशीले २१ बलमा ४६ रनको योगदान दिए ।

राजस्थानलाई ठूलो स्कोर बनाउनबाट रोक्न दिल्लीका अनुभवी अस्ट्रेलियाली तीव्र गतिका बलर मिचेल स्टार्कले घातक बलिङ गरे । उनले ४ ओभरमा ४० रन खर्चेर महत्त्वपूर्ण ४ विकेट लिए । उनको उत्कृष्ट प्रदर्शनका लागि उनलाई 'प्लेयर अफ द म्याच' घोषित गरियो । दिल्लीकै लुंगी एन्गिडी र माधव तिवारीले २–२ विकेट चट्काए ।

यो जितसँगै दिल्ली क्यापिटल्सको १४ खेलबाट १४ अंक पुगेको छ र टोली प्लेअफको दौडमा कायमै रहेको छ । पराजित राजस्थान रोयल्सको पनि १२ अंक रहेको छ र उसलाई बाँकी खेलहरू जित्नैपर्ने दबाब बढेको छ ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.