आईपीएल २०२६: पञ्जाबलाई हराउँदै रोयल च्यालेन्जर्स बेंगलोर प्लेअफमा पुग्ने पहिलो टोली
काठमाडौं । साविक विजेता रोयल च्यालेन्जर्स बेंगलोर (आरसीबी) इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को प्लेअफमा छनोट हुने पहिलो टोली बनेको छ । आइतबार राति धर्मशालामा भएको रोमान्चक खेलमा पञ्जाब किंग्सलाई २३ रनले पराजित गर्दै बेंगलोरले प्लेअफमा आफ्नो स्थान सुरक्षित गरेको हो ।
बेंगलोरका लागि मध्यक्रमका ब्याटर वेन्कटेश अय्यरले विष्फोटक ब्याटिङ गरे । उनले मात्र ४० बलमा ८ चौका र ४ छक्काको मद्दतले अविजित ७३ रनको योगदान दिए । उत्कृष्ट इनिङ्सका लागि उनलाई 'प्लेयर अफ द म्याच' घोषित गरियो ।
यस्तै, प्रारम्भिक ब्याटर विराट कोहलीले ३७ बलमा ४ चौका र ३ छक्का प्रहार गर्दै ५८ रनको अर्धशतकीय इनिङ्स खेले । अर्का ब्याटर देवदत्त पडिक्कलले २५ बलमा ४५ रन बनाए भने टिम डेभिडले अन्त्यमा १२ बलमा २८ रनको छिटो इनिङ्स खेले । पञ्जाबका हरप्रित ब्रारले २ तथा अर्शदीप सिंह र युजवेन्द्र चहलले १–१ विकेट लिए ।
शशांक सिंहको संघर्ष खेर गयो, पञ्जाबको लगातार छैटौं हार
त्यसपछि कपुर कोनोली (३७) र सुर्यांश शेडगे (३५) ले इनिङ्स सम्हाल्ने प्रयास गरे । छैटौं नम्बरमा आएका शशांक सिंहले २७ बलमा ४ चौका र ४ छक्का प्रहार गर्दै ५६ रनको उत्कृष्ट इनिङ्स खेलेर पञ्जाबलाई जितको नजिक पुर्याएका थिए । मार्कस स्टोइनिसले पनि २५ बलमा ३७ रन जोडे ।
तर, अन्तिम ओभरमा नतिजा आफ्नो पक्षमा पार्न पञ्जाब असफल भयो । बेंगलोरका लागि स्पिनर रसिद सलाम डारले घातक बलिङ गर्दै ३ विकेट लिए । अनुभवी बलर भुवनेश्वर कुमारले २ तथा जोश हेजलवुड, सुयश शर्मा र रोमारियो शेफर्डले १–१ विकेट लिएपछि बेंगलोरले जित सुनिश्चित गर्यो ।
यो हारसँगै पञ्जाब किंग्स लगातार छैटौं खेलमा पराजित भएको छ र उसको प्लेअफ यात्रा कठिन बनेको छ । अर्कोतर्फ, बेंगलोर भने प्रतियोगिताको ६१ औं खेल सकिँदा अन्तिम चार (प्लेअफ) मा पुग्ने पहिलो टोली बन्न सफल भएको छ ।
टिप्पणी लेख्नुहोस्