मेसीको गोल र असिस्टमा इन्टर मियामीको 'नु स्टेडियम' मा पहिलो ऐतिहासिक जित
काठमाडौँ, मे १८
मेइजर लिग सकर (MLS) २०२६ अन्तर्गत आइतबार राति भएको खेलमा लियोनेल मेसीको उत्कृष्ट प्रदर्शनको मद्दतले इन्टर मियामीले पोर्टल्यान्ड टिम्बर्सलाई २–० ले पराजित गरेको छ । यो जितसँगै इन्टर मियामीले आफ्नो नयाँ मैदान 'नु स्टेडियम' (Nu Stadium) मा पहिलो ऐतिहासिक जित दर्ता गर्न सफल भएको छ ।
यसअघि २६,००० दर्शक क्षमताको आफ्नो यस नयाँ होम ग्राउन्डमा खेलिएका चार खेलमा मियामीले तीन बराबरी र एक हारको सामना गर्नु परेको थियो । तर, आइतबार राति कप्तान लियोनेल मेसी आफैंले एक गोल गरे र अर्को गोलका लागि असिस्ट (पास) उपलब्ध गराउँदै टोलीको घरेलु मैदानको खडेरी समाप्त पारे ।
खेलको विवरण:
खेलको सुरुवातमा पोर्टल्यान्ड टिम्बर्सले मियामीमाथि दबाब बनाउने प्रयास गरेको थियो । ११ औं मिनेटमा पोर्टल्यान्डका कोल ब्यासेटको प्रहारलाई इन्टर मियामीका गोलकिपर डेन सेन्ट क्लारेले उत्कृष्ट बचाउ गर्दै मियामीको संकट टारेका थिए ।
तर, खेलको ३१ औं मिनेटमा लियोनेल मेसीले गोल गर्दै इन्टर मियामीलाई १–० को अग्रता दिलाए । लुइस सुआरेजको पासलाई टेलास्को सेगोभियाले फ्लिक गर्दै मेसीतर्फ बढाएका थिए, जसलाई मेसीले १२ यार्डको दुरीबाट पोर्टल्यान्डका गोलकिपर जेम्स पान्तेमिसलाई जिल्याउँदै जाली चुमाएका थिए । यो मेसीको यस सिजनको १३ औं गोल हो ।
त्यस्तै, खेलको ४२ औं मिनेटमा मियामीले आफ्नो अग्रता दोब्बर बनायो । मेसीले पोर्टल्यान्डका दुई डिफेन्डरहरूलाई ड्रिबल गर्दै छक्काएर जर्मन बर्टेरामेलाई उत्कृष्ट क्रस पास उपलब्ध गराए, जसमा बर्टेरामेले पोस्टको बायाँ कुना च्याप्दै सहजै गोल गरे ।
प्रशंसकहरूको मौन विरोध:
खेलका क्रममा इन्टर मियामीको आधिकारिक समर्थक समूह "ला फ्यामिलिया" (La Familia) ले खेलको उत्तरार्धसम्म कुनै पनि नाराबाजी, हुटिङ वा ड्रम बजाएनन् । खेलाडीहरूले नयाँ स्टेडियममा आफ्नो उपस्थितिलाई उचित सम्मान र स्वीकार नगरेको भन्दै आक्रोशित बनेका समर्थकहरूले खेलको ८५ औं मिनेटसम्म मौन बसेर विरोध जनाएका थिए । ८५ औं मिनेटपछि मात्र उनीहरूले गीत गाउन सुरु गरेका थिए ।
पूर्व प्रशिक्षकसँगको भेट:
यो खेल पोर्टल्यान्डका वर्तमान प्रशिक्षक फिल नेभिलका लागि निकै भावुक रहेको थियो । सन् २०२३ मा मियामीमा मेसीको आगमन हुनुभन्दा ठीक अघि मियामीले नेभिललाई प्रशिक्षक पदबाट बर्खास्त गरेको थियो । खेलपछि प्रतिक्रिया दिँदै नेभिलले भने, "२०२३ को सिजनको सुरुवातमै मलाई थाहा थाहा थियो कि यदि मेसी यहाँ आएमा म पदमा रहने छैन, जुन फुटबलमा सामान्य कुरा हो । म फुटबल बुझ्छु र यसमा मलाई कुनै गुनासो छैन ।" नेभिल मियामीका सह–मालिक डेभिड बेकह्यामका नजिकका साथी समेत हुन् । नेभिल बाहिरिएपछि मियामीले मेसीकै देश अर्जेन्टिनाका प्रशिक्षकहरूलाई प्राथमिकता दिँदै आएको छ ।
चोटको अपडेट:
यसैबीच, खेलअघि इन्टर मियामीले आफ्ना फरवार्ड तादेओ एयेन्डेको दायाँ घुँडाको आर्थ्रोस्कोपिक शल्यक्रिया सफल भएको जानकारी दिएको छ । उनी केही हप्तादेखि समस्यामा थिए र उनी कहिले मैदान फर्किनेछन् भन्नेबारे क्लबले कुनै निश्चित समय तोकेको छैन ।
टिप्पणी लेख्नुहोस्