नेपाल फुल–कन्ट्याक्ट कराँते महासंघद्वारा आबद्ध संघहरूलाई दर्ता तथा नवीकरणका लागि आह्वान
काठमाडौँ, नेपाल फुल–कन्ट्याक्ट कराँते महासंघले आफ्ना मातहतका सम्पूर्ण आबद्ध खेल संघहरूलाई महासंघमा नयाँ दर्ता वा नवीकरण प्रक्रिया पूरा गर्न निर्देशन दिएको छ । महासंघले एक आधिकारिक पत्र जारी गर्दै राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ र महासंघको संशोधित विधान २०८२ बमोजिम यो प्रक्रिया अनिवार्य गरिएको जनाएको हो ।
ऐनको व्यवस्था अनुसार एउटै खेल विधाका लागि एउटा मात्र राष्ट्रिय खेल संघ वा महासंघ रहने कानुनी प्रावधान छ । सोही व्यवस्थालाई पारदर्शी, व्यवस्थित, उत्तरदायी र विधिसम्मत बनाउनका लागि नयाँ मापदण्ड तोकिएको महासंघले स्पष्ट पारेको छ ।
दर्ता तथा नवीकरणका लागि आवश्यक १० कागजातहरू:
महासंघमा नयाँ दर्ता वा नवीकरणका लागि निम्न कागजातहरू अनिवार्य रूपमा पेश गर्नुपर्नेछ:
१. अन्तर्राष्ट्रिय आबद्धता पत्रको प्रतिलिपि (ब्रान्च चिफको फोटोसहित) ।
२. राष्ट्रिय खेलकुद परिषद् (राखेप) र महासंघमा दर्ता भएको भए सोको प्रमाणपत्रको प्रतिलिपि ।
३. पछिल्लो आर्थिक वर्षको गतिविधिको प्रतिवेदन ।
४. संघको विधानको प्रतिलिपि ।
५. कार्यसमितिको आवधिक निर्वाचन तथा साधारणसभा सम्पन्न भएको विवरण ।
६. संघको पदाधिकारी तथा सदस्यहरूको फोटो र नागरिकताको प्रतिलिपि सहितको नामावली ।
७. पछिल्लो आर्थिक वर्षको लेखापरीक्षण (अडिट) प्रतिवेदन ।
८. कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि ।
९. स्थायी लेखा नम्बर (PAN) प्रमाणपत्रको प्रतिलिपि ।
१०. सम्बन्धित संघको आधिकारिक लेटरप्याडमा दर्ता/नवीकरणका लागि निवेदन ।
जेठ १८ गतेभित्र विवरण बुझाउनुपर्ने, नबुझाए सरकारी सेवाबाट वञ्चित
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले महासंघमा आबद्ध संघहरूको अध्यावधिक विवरण माग गरेको हुँदा आगामी २०८२ साल जेठ १८ गतेभित्र तोकिएका सम्पूर्ण कागजातहरू अनिवार्य रूपमा बुझाइसक्नुपर्ने महासंघका दर्ता तथा नवीकरण संयोजक नन्दा कुमार किरातीले जानकारी दिनुभएको छ ।
निर्धारित समयभित्र प्रक्रिया पूरा नगर्ने संघहरूले राष्ट्रिय खेलकुद परिषद् र राज्यबाट पाउने सेवा सुविधाहरू गुमाउन सक्ने र त्यस्तो अवस्था आएमा महासंघ जबाफदेही नहुने चेतावनी समेत पत्रमार्फत दिइएको छ ।
कागजातहरू बुझाउन र थप जानकारीका लागि महासंघको केन्द्रीय कार्यालय (राखेप परिसर, त्रिपुरेश्वर, काठमाडौँ) मा सम्पर्क गर्न सकिने महासंघले जनाएको छ ।
टिप्पणी लेख्नुहोस्