वाईवाई यू–१९ जिल्ला छनोट: मकवानपुर ग्रीन विजयी, करन अग्रवाल प्लेयर अफ द म्याच
हेटौँडा, जेठ ५ गते । वाईवाई पुरुष यू–१९ जिल्ला छनोट क्रिकेट प्रतियोगिता २०२६ अन्तर्गत मकवानपुरमा भएको खेलमा मकवानपुर ग्रीन यू–१९ ले मकवानपुर ओरन्ज यू–१९ लाई १९ रनले पराजित गर्दै रोमाञ्चक जित दर्ता गरेको छ।
हेटौडाको हुप्रा चौरमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको मकवानपुर ग्रीनले निर्धारित २५ ओभरको खेलमा २०.२ ओभर खेल्दै सबै विकेट गुमाएर ११४ रनको योगफल तयार पारेको थियो। मकवानपुर ग्रीनका लागि कप्तान आदित्य पटेलले सर्वाधिक २१ रनको योगदान दिए। त्यस्तै अनिल पाण्डे र मोहम्मद साहिल अन्सारीले समान १७–१७ रन जोडे भने करन अग्रवालले १३ र मोहम्मद युसुफ आलमले १२ रन बनाए।
बलिङतर्फ मकवानपुर ओरन्जका लागि निमा थोकर, निशान्त गहतराज र राहुल शाहले समान २–२ विकेट लिए। त्यस्तै अभिषेक पन्त, आकाश कुमार यादव, प्रनब बराल र अश्मिर दाहालले १–१ विकेट चट्काए।
११५ रनको मध्यम लक्ष्य पछ्याउँदै मैदान उत्रिएको मकवानपुर ओरन्ज यू–१९ ले उत्कृष्ट सुरुवात गर्न सकेन र १५.४ ओभरमा मात्र ९५ रन जोड्दा अलआउट हुन पुग्यो। ओरन्जका लागि कप्तान निमा थोकरले ९ बलमा ४ चौकाको मद्दतले सर्वाधिक १७ रन बनाए। त्यस्तै निशान्त दुलालले १२ तथा आकाश कुमार यादवले ६ रन जोडे। मकवानपुर ओरन्जलाई सस्तैमा समेट्न मकवानपुर ग्रीनका बलरहरुले घातक बलिङ गरे।
ग्रीनका करन अग्रवालले धारिलो बलिङ गर्दै ३ ओभरमा मात्र १२ रन खर्चेर महत्वपूर्ण ४ विकेट लिए। त्यस्तै अनिल पाण्डे, मोहम्मद साहिल अन्सारी र आवास थापाले समान २–२ विकेट लिए भने उदय पराजुलीले १ विकेट आफ्नो नाम गरे।
खेलमा ब्याटिङ र बलिङ दुवैतर्फ उत्कृष्ट प्रदर्शन गर्दै ४ विकेट लिन सफल मकवानपुर ग्रीनका करन अग्रवाल 'प्लेयर अफ द म्याच' घोषित भए।
टिप्पणी लेख्नुहोस्