लेख विवरण

अमेरिकाविरुद्ध नेपालको कीर्तिमानी योगफल

अमेरिकाविरुद्ध नेपालको कीर्तिमानी योगफल

काठमाडौं, ८ जेठ । विश्वकप लिग २ अन्तर्गतको खेलमा नेपालले अमेरिकाविरुद्ध ३१७ रनको कीर्तिमानी योगफल तयार गरेको छ ।

लिग २ को १८औं राउण्डको अन्तिम खेलमा अमेरिकाले टस जितेर बलिङ रोजेको पछि पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा ८ विकेट गुमाएर ३१७ रनको कीर्तिमानी योगफल तयार गरेको हो ।

यो नेपालले ओडिआई क्रिकेटको पहिलो इनिङमा बनाएको सर्वाधिक ठूलो योगफल हो । यसअघि सन् २०२३ मा नेपालमा नै भएको एसिसी प्रिमियर कपमा ओमानविरुद्ध नेपालले ३१० रनको योगफल तयार गरेको थियो ।

नेपालका लागि इशान पाण्डेले ८३ बलमा ८ चौका र १ छक्काको सहयोगमा सर्वाधिक ८४ रनको अर्धशतकीय इनिङ खेले । कप्तान रोहित पौडेल पनि लगातार दोस्रो अर्धशतक बनाउँन मात्र ४ रनले चुके । रोहित ४६ रन बनाउँदै मिलिन्द कुमारबाट एबीडब्लु धरापमा परे । ओपनर कुशल भुर्तेल ३९ बलमा २९ रन जोड्दै आउट भए । कुशल आउट भएसँगै पहिलो विकेटका लागि भएको ६९ रनको साझेदारी टुटेको थियो ।

कुशल आउट भएको केही समयमा अर्का ओपनर आसिफ शेख  ५७ बलमा ६ चौकाको सहयोगमा ४३ रन बनाउँदै आउट भए । दुवै ओपनरलाई लगातार गुमाएको नेपालका लागि कप्तान रोहित र इशानले तेस्रो विकेटका लागि ११० रनको साझेदारी गरि टोलीलाई बलियो अवस्थामा पुर्याए ।

उपकप्तान दीपेन्द्रसिंह ऐरीले ३६ बलमा ४ चौका र ४ छक्काको सहयोगमा ५९ रनको अर्धशतकीय इनिङ्स खेलेर आउट भए । ओडिआई करियरको नवौं अर्धशतक दीपेन्द्रले २९ बलमा पूरा गरे । छैटौं विकेटका लागि दीपेन्द्रले आरिफ शेखसँग मिलेर ३८ रनको साझेदारी गरे । आरिफ १० बलमा १८ रन जोड्दै अविजित रहे ।

पाँचौ विकेटका लागि दीपेन्द्रले गुल्सन झासँग मिलेर ४७ रनको साझेदारी गरे । गल्सन १२ बलमा १५ रन बनाउँदै आउट भए । अमेरिकाका लागि शुभम रञ्जनेले ३ तथा रुसिल उगारकर र मिलिन्द कुमारले समान १ विकेट लिए । 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.