लेख विवरण

मधेस क्रिकेट लिगको उपाधि बारालाई: फाइनलमा धनुषा १२८ रनको फराकिलो अन्तरले पराजित

मधेस क्रिकेट लिगको उपाधि बारालाई: फाइनलमा धनुषा १२८ रनको फराकिलो अन्तरले पराजित

जनकपुरधाम, जेठ ९ । मधेस प्रदेशमा जारी दोस्रो संस्करणको 'मेन्स मधेस क्रिकेट लिग २०२६' को उपाधि बाराले आफ्नो पोल्टामा पारेको छ। शुक्रबार टिबी शाह क्रिकेट मैदानमा भएको फाइनल भिडन्तमा धनुषालाई १२८ रनको ठूलो अन्तरले स्तब्ध पार्दै बारा च्याम्पियन बनेको हो।

धनुषाले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरे पनि बाराका ब्याट्सम्यानहरूले त्यसलाई गलत साबित गरिदिए।

सुशान्त र अर्निकोको विस्फोटक ब्याटिङ, बाराले खडा गर्‍यो विशाल लक्ष्य

पहिले ब्याटिङ गरेको बाराले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १९३ रनको विशाल योगफल तयार गर्‍यो। बाराको बलियो इनिङ्समा माथिल्लो क्रमका ब्याट्सम्यानहरूले उत्कृष्ट योगदान दिए:

  • सुशान्त सिंह: ४३ बलमा ३ चौका र ४ छक्काको मद्दतले सर्वाधिक ५१ रन।

  • अर्निको प्रसाद यादव: ३२ बलमा ४ चौका र ३ छक्का प्रहार गर्दै ५० रनको आक्रामक अर्धशतकीय इनिङ।

  • साहिल पटेल: १८ बलमा २२ रन।

  • पवन सर्राफ: १० बलमा २ चौका र २ छक्कासहित विष्फोटक २२ रन।

धनुषाका लागि बलिङतर्फ आयुष यादव र रुपेश यादवले समान २-२ विकेट लिए पनि उनीहरू निकै महँगा सावित भए।

कमल गुप्ताको घातक बलिङ, ६५ रनमै समेटियो धनुषा

१९४ रनको विशाल र चुनौतीपूर्ण लक्ष्य पछ्याएको धनुषा सुरुदेखि नै दबाबमा देखियो। बाराका बलरहरू हाबी भएपछि धनुषाको इनिङ्स मात्र १४.४ ओभरमा ६५ रन बनाउँदा अलआउट हुन पुग्यो। धनुषाका लागि कुनै पनि ब्याट्सम्यानले लामो इनिङ्स खेल्न सकेनन्:

  • विशाल सुस्लिङले १७ रन तथा विकेटकिपर हिमान्सु दत्तले १४ रन जोड्नु बाहेक अन्य ब्याट्सम्यान क्रिजमा टिक्न सकेनन्।

धनुषाको ब्याटिङ लाइनअपलाई ध्वस्त पार्ने क्रममा बाराका कमल गुप्ताले घातक बलिङ गरे। उनले ३.४ ओभरमा मात्र १३ रन खर्चेर ४ महत्वपूर्ण विकेट चटकाए। त्यस्तै, सिराज हावारी र पवन सर्राफले समान २-२ विकेट लिए भने जितेन्द्र यादव र अर्निको प्रसाद यादवको भागमा १-१ विकेट रह्यो।

'प्लेयर अफ दि म्याच'

फाइनल खेलमा ब्याटिङतर्फ ५० रनको योगदान दिनुका साथै बलिङमा १ विकेट लिएका बाराका अलराउन्डर अर्निको प्रसाद यादव खेलको 'प्लेयर अफ दि म्याच' घोषित भए।

यो सँगै बाराले मधेस प्रदेशकै प्रतिष्ठित क्रिकेट प्रतियोगिताको दोस्रो सिजनको ट्रफी र उपाधि आफ्नो नाममा लेख्न सफल भएको छ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.