वाई वाई यू-१९ छनोट: महावीर क्लबलाई हराउँदै काठमाडौँ क्रिकेट एकेडेमी फाइनलमा
काठमाडौँ । वाई वाई पुरुष यू-१९ काठमाडौँ जिल्ला छनोट क्रिकेट प्रतियोगिता २०२६ अन्तर्गत भएको रोमाञ्चक सेमिफाइनल भिडन्तमा काठमाडौँ क्रिकेट एकेडेमी यू-१९ फाइनलमा प्रवेश गरेको छ। शुक्रबार माथिल्लो मूलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा काठमाडौँ क्रिकेट एकेडेमीले महावीर क्लब यू-१९ लाई ५ विकेटले पराजित गर्दै उपाधि नजिक पुगेको हो।
टस जितेर पहिले बलिङ रोजेको काठमाडौँ क्रिकेट एकेडेमीले महावीर क्लबलाई सस्तैमा रोक्दै १४.२ ओभरमा ९३ रनको लक्ष्य पूरा गर्यो। वर्षाको कारणले खेललाई प्रतिइनिङ १५ ओभरमा झारिएको थियो।
बुद्धिमानको संघर्षपूर्ण इनिङ, लक्ष्मणको घातक बलिङ
पहिले ब्याटिङको निम्तो पाएको महावीर क्लबले निर्धारित १५ ओभरमा ६ विकेट गुमाएर ९२ रनको योगफल तयार पारेको थियो। महावीरका लागि मध्यक्रमका ब्याट्सम्यान बुद्धिमान पाख्रिनले ३८ बलमा ४ चौकाको मद्दतले सर्वाधिक ३३ रनको योगदान दिए। ओपनर विशाल बुढाले ३१ बलमा ३ चौका र १ छक्का प्रहार गर्दै २६ रन जोडे।
महावीर क्लबलाई सानो स्कोरमा रोक्न काठमाडौँ क्रिकेट एकेडेमीका लक्ष्मण जेथाराले घातक बलिङ गरे। उनले आफ्नो ३ ओभरको स्पेलमा १३ डट बल फाल्दै मात्र ६ रन खर्चेर ३ महत्वपूर्ण विकेट चटकाए। यस्तै भीम भुल र जीवन बुढाले समान १-१ विकेट लिए।
इशान शाहको अविजित इनिङमा काठमाडौँको जित
९३ रनको विजयी लक्ष्य पछ्याएको काठमाडौँ क्रिकेट एकेडेमीले १४.२ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य भेट्टायो। टोलीको जितमा ओपनर इशान शाह सुवेदीले उत्कृष्ट इनिङ खेले। उनी ४२ बलमा २ चौका र १ छक्का प्रहार गर्दै ४६ रनमा अविजित रहे। यस्तै क्रितन अधिकारीले १२ तथा जीवन बुढाले अविजित १० रन जोडे।
बलिङतर्फ महावीर क्लबका आरभमान तामाङले २ तथा बालकुमार यादव र परख रसाइलीले १-१ विकेट लिए पनि टोलीलाई जित दिलाउन सकेनन्।
सेमिफाइनल जस्तो महत्त्वपूर्ण खेलमा किफायती बलिङ गर्दै ३ विकेट लिएर महावीर क्लबको ब्याटिङ ढाड भाँच्ने काठमाडौँ क्रिकेट एकेडेमीका लक्ष्मण जेथारा खेलको 'प्लेयर अफ दि म्याच' घोषित भए।
टिप्पणी लेख्नुहोस्