लेख विवरण

महिला यू-१९ जिल्ला छनोट (भक्तपुर): 'ख्वप कुमारी'को रोमान्चक जित, 'भादगाउँ क्विन्स' ११ रनले पराजित

महिला यू-१९ जिल्ला छनोट (भक्तपुर): 'ख्वप कुमारी'को रोमान्चक जित, 'भादगाउँ क्विन्स' ११ रनले पराजित

काठमाडौँ । भक्तपुर महिला यू-१९ जिल्ला छनोट क्रिकेट प्रतियोगिता २०२६ अन्तर्गत शुक्रबार माथिल्लो मूलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा ख्वप कुमारीले भादगाउँ क्विन्समाथि ११ रनको रोमान्चक जित दर्ता गरेको छ।

टस जितेर पहिले ब्याटिङ रोजेको ख्वप कुमारीले दिएको ७८ रनको सामान्य लक्ष्य पछ्याउने क्रममा भादगाउँ क्विन्स १३.४ ओभरमा ६६ रन मात्र बनाउन सफल भयो।

ख्वप कुमारीको संघर्षपूर्ण ब्याटिङ

पहिले ब्याटिङ गरेको ख्वप कुमारीले निर्धारित २० ओभरको खेलमा १९ ओभर खेल्दै ७ विकेट गुमाएर ७७ रनको योगफल तयार पारेको थियो। टोलीका लागि ओपनर स्वर्णिमा भण्डारीले ४६ बल खेल्दै २ चौकाको मद्दतमा अविजित २३ रनको धैर्यतापूर्ण इनिङ खेलिन्। त्यस्तै अर्की ओपनर प्रथा श्रेष्ठ र रबिना सुवेदीले समान १०–१० रन जोडे।

बलिङतर्फ भादगाउँ क्विन्सकी कप्तान अनुशा रोक्काले ४ ओभरमा १४ रन खर्चेर २ विकेट लिइन्। स्नेह साहुखलले २ तथा हिमानी तामाङ र सिल्भी नागाले १–१ विकेट हात पारे।

अप्सरा र कुमिकाको घातक बलिङ, ६६ रनमै समेटियो भादगाउँ

७८ रनको मध्यम विजयी लक्ष्य पछ्याएको भादगाउँ क्विन्सले सुरुवातदेखि नै नियमित अन्तरालमा विकेट गुमाउन पुग्यो। कप्तान अनुशा रोक्काले १६ बलमा २ चौका र १ छक्का प्रहार गर्दै २१ रनको आक्रामक इनिङ खेले पनि टोलीलाई जित दिलाउन सकिनन्। अर्की ब्याट्सम्यान अर्चना यादवले १२ रन जोड्नु बाहेक अन्यले दोहोरो अंकमा रन छुन सकेनन्।

भादगाउँको ब्याटिङ लाइनअपलाई ध्वस्त पार्ने क्रममा ख्वप कुमारीकी अप्सरा कुमालले १.४ ओभरमा मात्र ४ रन खर्चेर ३ महत्वपूर्ण विकेट चटकाइन्। त्यस्तै कुमिका भण्डारीले ३ ओभरमा १५ रन दिँदै ३ विकेट लिइन् भने कप्तान पूजा साउदले २ र साना साहुखलले १ विकेट हात पारे।

खेलमा अलराउन्ड प्रदर्शन गर्दै ब्याटिङतर्फ २१ रन बनाउनुका साथै बलिङतर्फ १४ रन दिएर २ विकेट लिएकी भादगाउँ क्विन्सकी कप्तान अनुशा रोक्का टोली पराजित भए तापनि खेलको 'प्लेयर अफ दि म्याच' घोषित भइन्।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.