वाई वाई यू-१९ छनोट: रणबीरको विष्फोटक ९६ रन र देउवाको ४ विकेट, एचसीएलाई हराउँदै सीईसी फाइनलमा
काठमाडौँ । वाई वाई पुरुष यू-१९ काठमाडौँ जिल्ला छनोट क्रिकेट प्रतियोगिता २०२६ अन्तर्गत भएको दोस्रो सेमिफाइनल खेलमा क्रिकेट एक्सीलेन्स सेन्टर (सीईसी) यू-१९ सानदार जितका साथ फाइनलमा प्रवेश गरेको छ। शुक्रबार माथिल्लो मूलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा सीईसीले हिमालयन क्रिकेट एकेडेमी (एचसीए) यू-१९ लाई ८२ रनको विशाल अन्तरले पराजित गरेको हो।
अब उपाधिका लागि क्रिकेट एक्सीलेन्स सेन्टरले काठमाडौँ क्रिकेट एकेडेमीको सामना गर्नेछ।
रणबीर र प्रसिद्धको उत्कृष्ट ओपनिङ, सीईसीको विशाल योगफल
टस जितेर पहिले ब्याटिङ रोजेको क्रिकेट एक्सीलेन्स सेन्टरले निर्धारित २० ओभरमा मात्र २ विकेट गुमाएर १८१ रनको विशाल योगफल खडा गर्यो। सीईसीका लागि प्रारम्भिक ब्याट्सम्यानद्वयले शतकीय साझेदारी गर्दै टोलीलाई विशाल स्कोरतर्फ डोर्याए:
-
रणबीर यादव: ओपिङमा आएका यादवले मात्र ५४ बलमा ५ चौका र ८ छक्का प्रहार गर्दै ९६ रनको विष्फोटक इनिङ खेले। उनी शतक बनाउन मात्र ४ रनले चुके।
-
प्रसिद्ध जैसी: कप्तान जैसीले ४५ बलमा ६ चौका र २ छक्काको मद्दतले (५२) रनको सानदार अर्धशतकीय इनिङ खेले।
-
विरेन्द्र धनाडीले २० बलमा अविजित १९ रन जोडे।
बलिङतर्फ हिमालयन क्रिकेट एकेडेमीका तपेन्द्र बिष्ट र सुलभ न्यौपानेले समान १-१ विकेट लिए।
धिरज देउवाको घातक बलिङ, ९९ रनमै रोकियो हिमालयन
१८२ रनको विशाल र चुनौतीपूर्ण लक्ष्य पछ्याएको हिमालयन क्रिकेट एकेडेमी सुरुदेखि नै दबाबमा आयो। सीईसीका बलरहरू हाबी भएपछि हिमालयनले २० ओभरमा ९ विकेट गुमाएर ९९ रन मात्र बनाउन सक्यो।
-
हिमालयनका लागि तल्लो क्रमका ब्याट्सम्यान सुवास विकले १९ बलमा २ चौका र १ छक्काको सहयोगमा सर्वाधिक २४ रन बनाए।
-
सभ्यम महर्जनले १५ र सुलभ न्यौपानेले अविजित १८ रन जोड्नु बाहेक अन्य ब्याट्सम्यान क्रिजमा टिक्न सकेनन्।
हिमालयनको इनिङ्सलाई ध्वस्त पार्न क्रिकेट एक्सीलेन्स सेन्टरका धिरज देउवाले घातक बलिङ गरे। उनले ४ ओभरमा २० रन दिएर ४ महत्वपूर्ण विकेट चटकाए। त्यस्तै सत्यम यादवले ४ ओभरमा १८ रन खर्चेर २ विकेट लिए भने दिपेन्द्र धामी र युगान्त कार्कीको भागमा १-१ विकेट रह्यो।
ब्याटिङतर्फ ५४ बलमा ९६ रनको विष्फोटक म्याच विनिङ इनिङ खेलेका क्रिकेट एक्सीलेन्स सेन्टरका ओपनर रणबीर यादव खेलको 'प्लेयर अफ दि म्याच' घोषित भए।
टिप्पणी लेख्नुहोस्