इटहरी मेयर कप: आयोजक 'इटहरी रेड' पराजित, कटहरी नगरपालिका फाइनलमा प्रवेश
इटहरी, जेठ ९ । तेस्रो इटहरी मेयर कप क्रिकेट प्रतियोगिता २०२६ को पहिलो सेमिफाइनल खेलमा कटहरी नगरपालिकाले रोमाञ्चक जित दर्ता गर्दै फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ। शुक्रबार डिभिएम क्रिकेट मैदानमा भएको कडा प्रतिस्पर्धामा कटहरीले आयोजक इटहरी उप-महानगरपालिका 'रेड' लाई १२ रनले पराजित गरेको हो।
टस जितेर पहिले ब्याटिङ रोजेको कटहरीले दिएको १३१ रनको लक्ष्य पछ्याउने क्रममा इटहरी रेड निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ११८ रनमा समेटियो।
कटहरीको मध्यम योगफल
पहिले ब्याटिङ गरेको कटहरी नगरपालिकाले २० ओभरमा आफ्ना सबै विकेट गुमाउँदै १३० रनको मध्यम योगफल खडा गरेको थियो। कटहरीका लागि ब्याट्सम्यानहरूले ठूलो इनिङ खेल्न नसके पनि सामूहिक योगदान दिए:
-
दिपु भुजेल र निर्देश बस्नेतले समान २२–२२ रनको योगदान दिए।
-
कप्तान लव कामतले १९ तथा प्रेम कामतले १५ बलमा १९ रन जोडे।
बलिङतर्फ इटहरी रेडका प्रकाश कार्की र विकल्प आचार्यले समान २–२ विकेट लिए। त्यस्तै भूपाल लुइटेल, सुमित यादव र रोहन शाहले १–१ विकेट हात पारे।
१३१ रनको लक्ष्य पछ्याएको इटहरी रेडको सुरुवात निकै खराब रह्यो। ओपनरद्वय रितेश राय र आकाश सर्राफ खाता नै नखोली डक आउट भए। मध्यक्रममा कप्तान भूपाल लुइटेल र गौरव कटवालले इनिङ्स सम्हाल्ने प्रयास गरे पनि टोलीलाई जित दिलाउन सकेनन्:
-
कप्तान भूपाल लुइटेलले ३८ बलमा ८ चौका र २ छक्का प्रहार गर्दै ५१ रनको उत्कृष्ट अर्धशतकीय इनिङ खेले।
-
गौरव कटवालले ४४ बलमा ३३ रन बनाए।
इटहरीलाई कम स्कोरमा रोक्न कटहरीका प्रेम कामतले सानदार बलिङ गरे। उनले ४ ओभरमा मात्र ८ रन खर्चेर ३ महत्वपूर्ण विकेट चटकाए। यस्तै विकास कामत र अभय कामतले समान २–२ विकेट लिए भने कप्तान लव कामत र राजिव महतोको भागमा १–१ विकेट रह्यो।
खेलमा ब्याटिङतर्फ १९ रन जोड्नुका साथै बलिङमा ४ ओभरमा मात्र ८ रन दिएर ३ विकेट लिँदै टोलीको जितमा मुख्य भूमिका खेलेका कटहरीका प्रेम कामत खेलको 'प्लेयर अफ दि म्याच' घोषित भए।
यस जितसँगै कटहरी नगरपालिका जारी प्रतियोगिताको फाइनलमा पुग्ने पहिलो टोली बनेको छ।
टिप्पणी लेख्नुहोस्