इटहरी मेयर कप: आयोजकको दोस्रो टोली 'इटहरी ग्रीन' पनि बाहिरियो, विराटनगर ५९ रनको जितसहित फाइनलमा
इटहरी, जेठ ९ । तेस्रो इटहरी मेयर कप क्रिकेट प्रतियोगिता २०२६ को दोस्रो सेमिफाइनल खेलमा विराटनगर महानगरपालिकाले सानदार जित दर्ता गर्दै फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ। शुक्रबार डिभिएम क्रिकेट मैदानमा भएको खेलमा विराटनगरले आयोजक इटहरी उप-महानगरपालिका 'ग्रीन' लाई ५९ रनको फराकिलो अन्तरले पराजित गरेको हो।
यसअघि पहिलो सेमिफाइनलमा इटहरी 'रेड' कटहरी नगरपालिकासँग पराजित भइसकेको अवस्थामा यो हारसँगै आयोजक इटहरीका दुवै टोली प्रतियोगिताको उपाधि होडबाट बाहिरिएका छन्। अब उपाधिका लागि विराटनगर महानगरपालिका र कटहरी नगरपालिका भिड्नेछन्।
दीपक र फिर्दोसको इनिङ्स, विराटनगरले बनायो बलियो योगफल
टस जितेर पहिले ब्याटिङ रोजेको विराटनगर महानगरपालिकाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४६ रनको बलियो योगफल खडा गरेको थियो। विराटनगरका लागि मध्यक्रमका ब्याट्सम्यानहरूले उत्कृष्ट इनिङ खेले:
-
फिर्दोस अनसारी: कप्तान अनसारीले २८ बलमा ५ चौका र १ छक्का प्रहार गर्दै सर्वाधिक ३७ रन बनाए।
-
दीपक पासवान: २४ बलमा ३ चौका र २ छक्काको मद्दतले ३२ रनको योगदान दिए।
-
कृतिक कमतले २३ बलमा २२ रन जोडे भने अन्त्यमा प्रतीक पोखरेलले १४ बलमा १७ रन जोड्दै टोलीलाई बलियो स्थितिमा पुर्याए।
बलिङतर्फ इटहरी ग्रीनका प्रशान्त साहले ४ ओभरमा ३० रन खर्चेर ४ महत्वपूर्ण विकेट चटकाए। यस्तै हरेराम सिंह, मनिष मण्डल, सुवास रोय र बिधान चन्द गोश्वामीले समान १–१ विकेट लिए।
प्रतीक पोखरेल र दिपेश कँडेलको घातक बलिङ, ८७ रनमै समेटियो इटहरी ग्रीन
१४७ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको इटहरी सब-मेट्रोपोलिटन ग्रीन विराटनगरका बलरहरूको धारिलो बलिङ सामु टिक्न सकेन र १६.१ ओभरमा ८७ रनमै अलआउट हुन पुग्यो।
-
इटहरी ग्रीनका लागि ओपनर भरत कार्कीले २७ बलमा ६ चौका र १ छक्का प्रहार गर्दै सर्वाधिक ३५ रन बनाए।
-
बिधान चन्द गोश्वामीले १४ रन जोड्नु बाहेक अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।
इटहरी ग्रीनको ब्याटिङ ध्वस्त पार्ने क्रममा विराटनगरका प्रतीक पोखरेल र दिपेश कँडेलले उत्कृष्ट बलिङ गरे।
-
प्रतीक पोखरेलले ४ ओभरमा १७ डट बल फाल्दै मात्र १५ रन खर्चेर ३ विकेट लिए।
-
दिपेश कँडेलले ३.१ ओभरमा १४ रन दिएर ३ विकेट हात पारे।
-
अमर यादवले पनि २ ओभरमा मात्र २ रन खर्चिँदै ३ विकेट चटकाए भने श्रवण यादवको भागमा १ विकेट रह्यो।
खेलमा ब्याटिङतर्फ अविजित १७ रन बनाउनुका साथै बलिङमा ४ ओभरमा मात्र १५ रन दिएर ३ महत्त्वपूर्ण विकेट लिँदै टोलीलाई फाइनल पुर्याउन मुख्य भूमिका खेलेका विराटनगरका प्रतीक पोखरेल खेलको 'प्लेयर अफ दि म्याच' घोषित भए।
टिप्पणी लेख्नुहोस्