महिला यू-१९ छनोट (भक्तपुर): अनुशा रोक्काको अलराउन्ड प्रदर्शनमा भादगाउँ क्विन्सको रोमाञ्चक जित, ख्वप कुमारी ८ रनले पराजित
काठमाडौँ । महिला यू-१९ भक्तपुर जिल्ला छनोट क्रिकेट प्रतियोगिता अन्तर्गत शुक्रबार माथिल्लो मूलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको रोमाञ्चक र कम स्कोरिङ खेलमा भादगाउँ क्विन्सले ख्वप कुमारीमाथि ८ रनको महत्त्वपूर्ण जित दर्ता गरेको छ।
टस जितेर पहिले ब्याटिङ रोजेको भादगाउँ क्विन्सले ख्वप कुमारीलाई ५९ रनको सामान्य लक्ष्य दिएको थियो। जवाफी ब्याटिङमा उत्रिएको ख्वप कुमारी १४ ओभरमा ७ विकेट गुमाएर ५० रनमा समेटिएपछि भादगाउँले खेल आफ्नो पक्षमा पारेको हो।
अप्सराको घातक बलिङ, ५८ रनमै रोकियो भादगाउँ
पहिले ब्याटिङ गरेको भादगाउँ क्विन्सले १९.४ ओभरमा आफ्ना सबै विकेट गुमाउनु अघि ५८ रनको झिनो योगफल खडा गरेको थियो। भादगाउँका लागि कप्तान अनुशा रोक्काले १५ बलमा १ चौका र १ छक्का प्रहार गर्दै सर्वाधिक १४ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानहरू क्रिजमा टिक्न संघर्ष गरे।
भादगाउँलाई सस्तैमा समेट्न ख्वप कुमारीकी अप्सरा कुमालले घातक बलिङ गर्दै ३.४ ओभरमा १६ रन खर्चेर ३ विकेट चटकाइन्। त्यस्तै कप्तान पूजा साउद र कुमिका भण्डारीले समान २-२ विकेट लिए भने आयुष्मा रावल र साना साहुखलको भागमा १-१ विकेट रह्यो।
कप्तान अनुशाको स्पिन जादु, लक्ष्य भेटाउन चुके ख्वप कुमारी
५९ रनको सामान्य लक्ष्य पछ्याएको ख्वप कुमारीले पनि खराब सुरुवात गर्यो। ओपनर प्रथा श्रेष्ठले १५ बलमा २ चौकासहित १२ रन र कप्तान पूजा साउदले २० बलमा १२ रन जोड्दै इनिङ सम्हाल्ने प्रयास गरे पनि मध्यक्रम पूर्ण रूपमा ध्वस्त भयो।
ख्वप कुमारीको इनिङ्सलाई रोक्न भादगाउँकी कप्तान अनुशा रोक्काले उत्कृष्ट स्पिन बलिङको नमुना प्रस्तुत गरिन्। उनले आफ्नो ४ ओभरको स्पेलमा १६ डट बल फाल्दै मात्र १२ रन खर्चेर ३ महत्वपूर्ण विकेट लिइन्। यस्तै सिल्भी नागा, हिमानी तामाङ र अर्चना यादवले समान १-१ विकेट लिएर ख्वप कुमारीलाई ५० रनमै रोक्न सफल भए।
ब्याटिङतर्फ टोलीका लागि सर्वाधिक १४ रन बनाउनुका साथै बलिङमा ४ ओभरमा १२ रन दिएर ३ महत्वपूर्ण विकेट लिँदै कप्तानी पारी खेलेकी भादगाउँ क्विन्सकी अनुशा रोक्का खेलको 'प्लेयर अफ दि म्याच' घोषित भइन्।
टिप्पणी लेख्नुहोस्