लेख विवरण

विश्वकप लिग–२ : घरेलु मैदानको अन्तिम खेलमा नेपाल र अमेरिका भिड्दै, अमेरिकाले टस जितेर फिल्डिङ रोज्यो

विश्वकप लिग–२ : घरेलु मैदानको अन्तिम खेलमा नेपाल र अमेरिका भिड्दै, अमेरिकाले टस जितेर फिल्डिङ रोज्यो

काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत घरेलु मैदानमा भइरहेको त्रिकोणात्मक शृङ्खलाको आफ्नो अन्तिम खेलमा आज नेपालले अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भइरहेको यस खेलमा अमेरिकाले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ र नेपाललाई ब्याटिङको निम्तो दिएको छ। नेपालका लागि ओपनर आसिफ शेख र कुशल भुर्तेलले क्रिजमा आएर ब्याटिङ सुरु गरिसकेका छन्।

घरेलु मैदानमा जारी लिग–२ शृङ्खलाको यो अन्तिम खेललाई जितेर नेपाल सुखद् अन्त्य गर्ने लक्ष्यमा रहेको छ। अघिल्लो खेलमा अमेरिकामाथि सानदार जित निकालेको नेपाल आज पनि उच्च मनोबलका साथ मैदान उत्रिएको छ भने अमेरिका उक्त हारको बदला लिने योजनामा छ।

यस्तो छ अंक तालिकाको अवस्था

समान २७ खेल खेले पनि अंक तालिकामा नेपाल र अमेरिकाको अवस्था निकै फरक छ:

टोली खेल जित हार अंक स्थान
अमेरिका २७ १९ - ३८ शीर्ष (पहिलो)
नेपाल २७ १० १५ २२ पाँचौँ

विश्वकप छनोटको सम्भावना कायम राख्न तथा आफ्नो एकदिवसीय (ODI) मान्यता जोगाउन नेपालका लागि अब बाँकी रहेका सबै खेलहरू जित्नुपर्ने ठूलो दबाब छ। अर्कोतर्फ, अमेरिका शीर्ष स्थान बलियो बनाउँदै उपाधि उचाल्ने दाउमा छ।

अघिल्लो भेटमा नेपाल हाबी

यसअघि जेठ ३ गते (मे १६) यही मैदानमा भएको खेलमा नेपालले अमेरिकालाई ९ विकेटको विशाल अन्तरले पराजित गरेको थियो। अमेरिकाले दिएको १९६ रनको लक्ष्य नेपालले कुशल भुर्तेलको उत्कृष्ट शतक (१२० रन) को मद्दतमा मात्र ३६.४ ओभरमा १ विकेट गुमाएर पूरा गरेको थियो।

घरेलु मैदानमा जारी यस त्रिकोणात्मक शृङ्खलामा नेपालले हालसम्म खेलेका चार खेलमध्ये दुईमा जित र एकमा हार बेहोरेको छ। पहिलो खेलमा स्कटल्यान्डसँग २ रनले पराजित भएको नेपालले दोस्रो भेटमा भने स्कटल्यान्डलाई ६ विकेटले हराएको थियो।

नेपाली टोली: रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), आरिफ शेख, दिपेन्द्र सिंह ऐरी, सोमपाल कामी, सन्दीप लामिछाने, गुलशन झा, ललित राजवंशी, इशान पाण्डे, नन्दन यादव।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.