लेख विवरण

वाई-वाई यू-१९ जिल्ला छनोट: शिव शक्तिको विष्फोटक ब्याटिङ, मकवानपुर ग्रेद्वारा मकवानपुर स्काई ब्लु ५ विकेटले पराजित

वाई-वाई यू-१९ जिल्ला छनोट: शिव शक्तिको विष्फोटक ब्याटिङ, मकवानपुर ग्रेद्वारा मकवानपुर स्काई ब्लु ५ विकेटले पराजित

हेटौँडा, हेटौँडाको हुप्राचौर क्रिकेट मैदानमा जारी वाई-वाई पुरुष यू-१९ जिल्ला छनोट क्रिकेट प्रतियोगिता (मकवानपुर) अन्तर्गत आज सम्पन्न खेलमा मकवानपुर ग्रे यू-१९ ले मकवानपुर स्काई ब्लु यू-१९ माथि ५ विकेटको रोमान्चक जित दर्ता गरेको छ। कप्तान शिव शक्ति महतोको अलराउन्ड प्रदर्शनको मद्दतले मकवानपुर ग्रेले प्रतियोगितामा महत्त्वपूर्ण जित निकालेको हो।

टस जितेर पहिले ब्याटिङ रोजेको मकवानपुर स्काई ब्लुले निर्धारित २५ ओभरको खेलमा २१.४ ओभर मात्र टिकेर आफ्ना सबै विकेट गुमाउँदै १३९ रनको योगफल तयार पारेको थियो। स्काई ब्लुका लागि कप्तान रोहित ठाकुरले सर्वाधिक ५१ रनको अर्धशतकीय पारी खेले। उनले ३४ बलको सामना गर्दै ४ चौका र ५ छक्का प्रहार गरे। त्यस्तै, कोसिस कप्रौलाले १६ र कुसल घिमिरेले १२ रन जोडे।

मकवानपुर स्काई ब्लुलाई सस्तोमा समेट्ने क्रममा मकवानपुर ग्रेका बलर निकेश श्रीवास्तवले घातक बलिङ गरे। उनले ४.४ ओभरमा १९ रन खर्चेर ४ विकेट लिए। यस्तै, मन्जेश लाल श्रेष्ठले २ तथा शिव शक्ति महतो, उज्ज्वल पटेल र आवर्त भट्टराईले समान १-१ विकेट लिए।

१४० रनको लक्ष्य पछ्याएको मकवानपुर ग्रेले २१.१ ओभरमा ५ विकेट गुमाउँदै उक्त लक्ष्य सहजै भेट्टायो। ग्रेको जितमा प्रारम्भिक ब्याटर तथा कप्तान शिव शक्ति महतोले विष्फोटक ब्याटिङ गरे। उनले ६८ बलमा ११ चौका र ३ छक्का प्रहार गर्दै ८७ रनको म्याच विनिंग इनिङ खेले। अर्का ब्याटर आयुष गुप्ताले २० रनको योगदान दिए।

मकवानपुर स्काई ब्लुका बलर रोहित ठाकुर, कोसिस कप्रौला, सुजित शाह, रौनक खतिवडा र प्रबेश नेपालले समान १-१ विकेट लिए पनि टोलीलाई जित दिलाउन सकेनन्।

ब्याटिङतर्फ ८७ रनको उत्कृष्ट पारी खेल्नुका साथै बलिङमा १ विकेट समेत लिएका मकवानपुर ग्रेका कप्तान शिव शक्ति महतो खेलको 'प्लेयर अफ दि म्याच' घोषित भए।

संक्षिप्त स्कोरकार्ड:

  • मकवानपुर स्काई ब्लु यू-१९: १३९/९ (२१.४ ओभर, अलआउट)*

    रोहित ठाकुर: ५१ रन, निकेश श्रीवास्तव: ४ विकेट

  • मकवानपुर ग्रे यू-१९: १४३/५ (२१.१ ओभर)

    शिव शक्ति महतो: ८७ रन, आयुष गुप्ता: २० रन

  • नतिजा: मकवानपुर ग्रे यू-१९ ५ विकेटले विजयी।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.