लेख विवरण

सुवर्ण शमशेर मेमोरियल यू-१३ क्रिकेट: काठमाडौं क्रिकेट एकेडेमीको सानदार जित, एन्जेल स्पोर्ट्स एकेडेमी ९ विकेटले पराजित

सुवर्ण शमशेर मेमोरियल यू-१३ क्रिकेट: काठमाडौं क्रिकेट एकेडेमीको सानदार जित, एन्जेल स्पोर्ट्स एकेडेमी ९ विकेटले पराजित

काठमाडौं, जेठ ९ गते । प्रथम एचसीए सुवर्ण शमशेर मेमोरियल यू-१३ क्रिकेट प्रतियोगिता अन्तर्गत आज सम्पन्न लिग चरणको खेलमा काठमाडौं क्रिकेट एकेडेमी (केसीए) ले सानदार जित दर्ता गरेको छ। एकपक्षीय बनेको खेलमा काठमाडौं क्रिकेट एकेडेमीले एन्जेल स्पोर्ट्स एकेडेमी यू-१३ 'ए' लाई ९ विकेटको विशाल अन्तरले पराजित गरेको हो।

टस जितेर पहिले ब्याटिङ रोजेको एन्जेल स्पोर्ट्स एकेडेमीले निकै खराब सुरुवात गर्‍यो। काठमाडौंका बलरहरूको कसिलो बलिङ र उत्कृष्ट फिल्डिङसामु एन्जेलका ब्याटरहरू क्रिजमा टिक्न सकेनन्। एन्जेल स्पोर्ट्स एकेडेमी १४.५ ओभरमा मात्र ५० रन जोड्दा अलआउट हुन पुग्यो।

एन्जेलका लागि रियान जीसीले सर्वाधिक ८ रन बनाए भने सुप्रिम केसी र निशान मल्लले समान ६-६ रन जोडे। टोलीलाई सस्तोमा समेट्न काठमाडौंका सुशान्त गजुरेल र आयुष शाहीले २-२ विकेट लिए। त्यस्तै रिदम अधिकारी र अर्सु दाहालको भागमा समान १-१ विकेट रह्यो। एन्जेलका दुई महत्त्वपूर्ण ब्याटर रनआउटको शिकार भएका थिए।

५१ रनको सामान्य लक्ष्य पछ्याएको काठमाडौं क्रिकेट एकेडेमीले मात्र ४.२ ओभरमा १ विकेट गुमाएर लक्ष्य भेट्टायो। काठमाडौंको जितमा प्रारम्भिक ब्याटर मेघान खत्रीले विष्फोटक ब्याटिङ गरे। उनले मात्र १७ बलमा ७ चौका र १ छक्काको मद्दतले अविजित ३६ रनको योगदान दिए। अर्का ब्याटर तोशन कार्की भने ५ रन बनाएर सेजिन भण्डारीको बलमा क्याच आउट भए।

खेलमा उत्कृष्ट बलिङ प्रदर्शन गर्दै २ ओभरमा मात्र ७ रन खर्चेर २ विकेट लिएका काठमाडौं क्रिकेट एकेडेमीका सुशान्त गजुरेल 'प्लेयर अफ दि म्याच' घोषित भए।

संक्षिप्त स्कोरकार्ड:

  • एन्जेल स्पोर्ट्स एकेडेमी यू-१३ (A): ५०/१० (१४.५ ओभर)

    रियान जीसी: ८ रन, आयुष शाही: २ विकेट, सुशान्त गजुरेल: २ विकेट

  • काठमाडौं क्रिकेट एकेडेमी यू-१३: ५१/१ (४.२ ओभर)

    मेघान खत्री: ३६ रन, सेजिन भण्डारी: १ विकेट*

  • नतिजा: काठमाडौं क्रिकेट एकेडेमी ९ विकेटले विजयी।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.