लेख विवरण

सुवर्ण शमशेर मेमोरियल यू-१३ क्रिकेट: समर यादवको विष्फोटक शतक, पल्सर सीईसीद्वारा सीईसी भक्तपुर १२३ रनले पराजित

सुवर्ण शमशेर मेमोरियल यू-१३ क्रिकेट: समर यादवको विष्फोटक शतक, पल्सर सीईसीद्वारा सीईसी भक्तपुर १२३ रनले पराजित

काठमाडौं, प्रथम एचसीए सुवर्ण शमशेर मेमोरियल यू-१३ क्रिकेट प्रतियोगिता अन्तर्गत शनिबार सम्पन्न लिग चरणको खेलमा पल्सर सीईसी यू-१३ ले कीर्तिमानी जित दर्ता गरेको छ। ब्याटिङ र बलिङ दुवैतर्फ उत्कृष्ट प्रदर्शन गर्दै पल्सर सीईसीले सीईसी भक्तपुर यू-१३ लाई १२३ रनको विशाल अन्तरले पराजित गरेको हो।

टस जितेर पहिले ब्याटिङ रोजेको पल्सर सीईसीले निर्धारित १६ ओभरमा मात्र २ विकेट गुमाउँदै २०० रनको योगफल खडा गर्‍यो। पल्सर सीईसीको इनिङ्समा प्रारम्भिक ब्याटर समर यादवले विष्फोटक ब्याटिङ गर्दै शतकीय पारी खेले। उनले मात्र ४४ बलको सामना गर्दै १२ चौका र ९ छक्काको मद्दतले अविजित ११७ रनको तुफानी इनिङ खेले। उनलाई बलियो साथ दिँदै मिङ्मार सोनाम शेर्पाले २४ बलमा अविजित ५५ रन (५ चौका र ४ छक्का) को अर्धशतकीय योगदान दिए। सीईसी भक्तपुरका आकाश यादव र अनुश रेग्मीले समान १-१ विकेट लिए।

२०१ रनको विशाल र कठिन लक्ष्य पछ्याएको सीईसी भक्तपुर १६ ओभरमा ७७ रन जोड्दा अलआउट हुन पुग्यो। पल्सर सीईसीका बलरहरूको कसिलो बलिङ र उत्कृष्ट फिल्डिङसामु भक्तपुरका ब्याटरहरू खुलेर खेल्न सकेनन्। भक्तपुरका लागि अनुरागक्षत ठगुन्नाले १६, आल्बिन थापाले १५ र अधृत सुवेदीले १ रन जोड्नु बाहेक अन्य ब्याटरले दोहोरो अंक छुन सकेनन्।

सीईसी भक्तपुरलाई सस्तैमा समेट्न पल्सर सीईसीका राज ढुंगाना र इशान केसीले घातक बलिङ गर्दै समान २-२ विकेट लिए। त्यस्तै, नियोग बोगटी, समज्ञ राज रेग्मी र मिङ्मार सोनाम शेर्पाको भागमा समान १-१ विकेट रह्यो।

खेलमा ४४ बलमा ११७ रनको विष्फोटक शतकीय इनिङ खेलेका पल्सर सीईसीका समर यादव खेलको 'प्लेयर अफ दि म्याच' घोषित भए।

संक्षिप्त स्कोरकार्ड:

  • पल्सर सीईसी यू-१३: २००/२ (१६ ओभर)

    समर यादव: ११७ रन, मिङ्मार सोनाम शेर्पा: ५५* रन, आकाश यादव: १ विकेट*

  • सीईसी भक्तपुर यू-१३: ७७/१० (१६ ओभर)

    अनुरागक्षत ठगुन्ना: १६ रन, राज ढुंगाना: २ विकेट, इशान केसी: २ विकेट

  • नतिजा: पल्सर सीईसी यू-१३ १२३ रनले विजयी।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.