वाई-वाई यू-१९ छनोट: कृष्णाको घातक बलिङ र ब्याटरहरूको उत्कृष्ट प्रदर्शन, नुवाकोट ब्लुद्वारा नुवाकोट रेड ८ विकेटले पराजित
नुवाकोट, नुवाकोटमा जारी वाई-वाई पुरुष यू-१९ जिल्ला छनोट क्रिकेट प्रतियोगिता अन्तर्गत शनिबार सम्पन्न लिग चरणको खेलमा नुवाकोट ब्लुले सानदार जित दर्ता गरेको छ। बलर कृष्णा पासवानको घातक बलिङ र ब्याटरहरूको परिपक्व प्रदर्शनको मद्दतले नुवाकोट ब्लुले नुवाकोट रेडलाई ८ विकेटको विशाल अन्तरले पराजित गरेको हो।
टस जितेर पहिले ब्याटिङ रोजेको नुवाकोट रेडले निर्धारित ३० ओभरको खेलमा १७.४ ओभर मात्र टिकेर १३६ रन बनाउँदै आफ्ना सबै विकेट गुमायो। नुवाकोट रेडका लागि ईशान पालिले १८ बलमा अविजित १५ र दिपेश रिमालले ६ बलमा ६ रन बनाए। टोलीका अन्य ब्याटरहरू क्रिजमा लामो समय टिक्न सकेनन् भने एक्स्ट्रा (अतिरिक्त) बाट रेडले महत्त्वपूर्ण ३९ रन प्राप्त गरेको थियो।
नुवाकोट रेडलाई सस्तैमा समेट्ने क्रममा नुवाकोट ब्लुका बलर कृष्णा पासवानले उत्कृष्ट बलिङ प्रदर्शन गरे। उनले मात्र ३ ओभरमा १३ डट बल फाल्दै १४ रन खर्चेर महत्वपूर्ण ५ विकेट चट्काए। त्यस्तै, अमित दासले २ विकेट लिए भने युनिक घिमिरे, आकाश यादव र कपिल बोहराको भागमा समान १-१ विकेट रह्यो।
१३७ रनको लक्ष्य पछ्याएको नुवाकोट ब्लुले उत्कृष्ट ब्याटिङ गर्दै १७.३ ओभरमा मात्र २ विकेट गुमाएर लक्ष्य सहजै भेट्टायो। ब्लुको जितमा क्रित केसी र अंश राज गुप्ताले उत्कृष्ट इनिङ खेले। क्रित केसीले ३३ बलमा ४ चौका र २ छक्का प्रहार गर्दै अविजित ३८ रन बनाए। त्यस्तै, विष्फोटक ब्याटिङ गरेका अंश राज गुप्ताले ३० बलमा ४ चौका र २ छक्काको मद्दतले ३२ रन जोडे। विपिन खनाल १७ रनमा अविजित रहे भने सुभ रेग्मीले १५ रनको योगदान दिए।
नुवाकोट रेडका बलर सुधिर शाहीले ४ ओभरमा १४ रन खर्चेर १ विकेट लिए पनि टोलीलाई हारबाट जोगाउन सकेनन्।
खेलमा ३ ओभरमा १४ रन खर्चेर ५ विकेट लिँदै विपक्षी टोलीको ब्याटिङ मेरुदण्ड भाँच्ने नुवाकोट ब्लुका कृष्णा पासवान खेलको 'प्लेयर अफ दि म्याच' घोषित भए।
संक्षिप्त स्कोरकार्ड:
-
नुवाकोट रेड: १३६/१३ (१७.४ ओभर, अलआउट)*
ईशान पालि: १५ रन, कृष्णा पासवान: ५ विकेट, अमित दास: २ विकेट*
-
नुवाकोट ब्लु: १४०/२ (१७.३ ओभर)
क्रित केसी: ३८ रन, अंश राज गुप्ता: ३२ रन, सुधिर शाही: १ विकेट*
-
नतिजा: नुवाकोट ब्लु ८ विकेटले विजयी।
टिप्पणी लेख्नुहोस्