वाई-वाई यू-१९ जिल्ला छनोट: क्रिकेट एक्सीलेन्स सेन्टर बन्यो काठमाडौं च्याम्पियन, काठमाडौं क्रिकेट एकेडेमी १३८ रनले पराजित
काठमाडौं, क्रिकेट एक्सीलेन्स सेन्टर (सीईसी) यू-१९ ले वाई-वाई पुरुष यू-१९ जिल्ला छनोट क्रिकेट प्रतियोगिता (काठमाडौं) को उपाधि जितेको छ। शनिबार माथिल्लो मुलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न फाइनल खेलमा काठमाडौं क्रिकेट एकेडेमी (केसीए) यू-१९ लाई १३८ रनको विशाल अन्तरले पराजित गर्दै सीईसीले च्याम्पियन ट्रफी उचालेको हो।
टस जितेर पहिले ब्याटिङ रोजेको सीईसीले निर्धारित २० ओभरमा मात्र २ विकेट गुमाउँदै १६८ रनको बलियो योगफल खडा गरेको थियो। सीईसीको तर्फबाट बुद्धिमान बिष्टले अर्धशतकीय पारी खेले। उनले ३७ बलको सामना गर्दै ३ चौका र ४ छक्काको मद्दतले ५६ रन बनाए। त्यस्तै, प्रारम्भिक ब्याटर वीरेन्द्र धनाडीले ६१ बलमा ७ चौका प्रहार गर्दै ५५ रनमा अविजित रहे भने रणबीर यादवले २८ रन जोडे। कप्तान प्रसिद्ध जैसीले अन्त्यमा मात्र ७ बलमा २ चौका र १ छक्का प्रहार गर्दै अविजित १३ रनको आक्रामक योगदान दिए।
काठमाडौं क्रिकेट एकेडेमीका लागि बलर शर्चित मिश्राले ४ ओभरमा ३६ रन खर्चेर २ विकेट लिए पनि अन्य बलरहरू विकेटविहीन रहे।
१६९ रनको विशाल लक्ष्य पछ्याएको काठमाडौं क्रिकेट एकेडेमी सीईसीका बलरहरूको घातक बलिङसामु पूर्ण रूपमा ध्वस्त भयो। काठमाडौं क्रिकेट एकेडेमी १०.४ ओभरमा मात्र ३० रन जोड्दा अलआउट हुन पुग्यो। टोलीका लागि कप्तान शौर्य वीर चन्दले सर्वाधिक १४ रन र जीवन बुढाले ८ रन बनाउनु बाहेक अन्य कुनै पनि ब्याटरले खाता खोल्न सकेनन्। काठमाडौंका ७ जना ब्याटर शून्य (डक) रनमै आउट भएका थिए।
काठमाडौं क्रिकेट एकेडेमीलाई सस्तैमा समेट्ने क्रममा सीईसीका धिरज देउबाले सर्वोत्कृष्ट बलिङ गरे। उनले ३ ओभरमा १ मेडन राख्दै मात्र ५ रन खर्चेर ४ विकेट चट्काए। त्यस्तै, सत्यम यादव र कप्तान प्रसिद्ध जैसीले समान २-२ विकेट लिए भने युगान्त कार्कीको भागमा १ विकेट रह्यो।
फाइनल खेलमा उत्कृष्ट बलिङ प्रदर्शन गर्दै ५ रन खर्चेर ४ विकेट लिएका क्रिकेट एक्सीलेन्स सेन्टरका धिरज देउबा 'प्लेयर अफ दि म्याच' घोषित भए।
संक्षिप्त स्कोरकार्ड:
-
क्रिकेट एक्सीलेन्स सेन्टर यू-१९: १६८/२ (२० ओभर)
बुद्धिमान बिष्ट: ५६ रन, वीरेन्द्र धनाडी: ५५ रन, शर्चित मिश्रा: २ विकेट*
-
काठमाडौं क्रिकेट एकेडेमी यू-१९: ३०/१० (१०.४ ओभर)
शौर्य वीर चन्द: १४ रन, धिरज देउबा: ४ विकेट, प्रसिद्ध जैसी: २ विकेट, सत्यम यादव: २ विकेट
-
नतिजा: क्रिकेट एक्सीलेन्स सेन्टर यू-१९ १३८ रनले विजयी र च्याम्पियन।
टिप्पणी लेख्नुहोस्