लेख विवरण

इटहरी मेयर कप: विराटनगर महानगरपालिका बन्यो च्याम्पियन, फाइनलमा कटहरी गाउँपालिका २७ रनले पराजित

इटहरी मेयर कप: विराटनगर महानगरपालिका बन्यो च्याम्पियन, फाइनलमा कटहरी गाउँपालिका २७ रनले पराजित

इटहरी, विराटनगर महानगरपालिकाले तेस्रो इटहरी मेयर कप क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ। शनिबार इटहरीको डीभीएम क्रिकेट मैदानमा सम्पन्न रोमाञ्चक फाइनल खेलमा कटहरी गाउँपालिकालाई २७ रनले पराजित गर्दै विराटनगरले च्याम्पियन ट्रफी आफ्नो पोल्टामा पारेको हो।

टस जितेर पहिले ब्याटिङ रोजेको विराटनगर महानगरपालिकाले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १६७ रनको बलियो योगफल तयार पारेको थियो। विराटनगरका लागि कृतिक कामतले अविजित ५६ रनको अर्धशतकीय इनिङ खेले। उनले ४५ बलको सामना गर्दै ३ चौका र ४ छक्का प्रहार गरे। त्यस्तै, कप्तान फिरदोष अन्सारीले मात्र २३ बलमा ४ चौका र ४ छक्काको मद्दतले ५१ रनको विष्फोटक अर्धशतकीय पारी खेले। दीपक पासवानले २८ रनको योगदान दिए।

कटहरी गाउँपालिकाका बलर विकास कामतले ४ ओभरमा २२ रन खर्चेर २ विकेट लिए भने अभय कामत र कप्तान लभ कामतको भागमा समान १-१ विकेट रह्यो।

१६८ रनको विजयी लक्ष्य पछ्याएको कटहरी गाउँपालिकाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४० रन मात्र बनाउन सक्यो। कटहरीका लागि कप्तान लभ कामतले ३८ बलमा ८ चौकाको मद्दतले सर्वाधिक ४९ रन बनाए भने रुद्र प्रताप साहले १४ बलमा ४ छक्का प्रहार गर्दै २९ रनको आक्रामक इनिङ खेले पनि टोलीलाई जिताउन पर्याप्त भएन। अन्य ब्याटरमा दीपु भुजेलले १३ र निर्देश बस्नेतले १२ रन जोडे।

कटहरीलाई लक्ष्य भेटाउन नदिन विराटनगरका बलरहरूले उत्कृष्ट प्रदर्शन गरे। विराटनगरका श्रवण किस्कु, श्रवण यादव, अमर यादव र कृष शर्माले समान २-२ विकेट लिए भने दिपेश कँडेलको भागमा १ विकेट रह्यो। कप्तान फिरदोष अन्सारीले ३ ओभरमा मात्र १३ रन खर्चेर कटहरीका ब्याटरहरूलाई दबाबमा राखेका थिए।

फाइनल खेलमा २३ बलमा ५१ रनको विष्फोटक पारी खेल्नुका साथै किफायती बलिङ गरेका विराटनगर महानगरपालिकाका कप्तान फिरदोष अन्सारी खेलको 'प्लेयर अफ दि म्याच' घोषित भए।

संक्षिप्त स्कोरकार्ड:

  • विराटनगर महानगरपालिका: १६७/५ (२० ओभर)

    कृतिक कामत: ५६ रन, फिरदोष अन्सारी: ५१ रन, विकास कामत: २ विकेट*

  • कटहरी गाउँपालिका: १४०/९ (२० ओभर)

    लभ कामत: ४९ रन, रुद्र प्रताप साह: २९ रन, श्रवण किस्कु: २ विकेट, श्रवण यादव: २ विकेट*

  • नतिजा: विराटनगर महानगरपालिका २७ रनले विजयी र च्याम्पियन।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.